ललितपुर, १ फागुन ।नेपाल पत्रकार महासंघ, ललितपुर शाखा आजदेखि आफ्नो स्थापनाको ३३ औँ वर्षमा प्रवेश गरेको छ। यो अवसरमा महासंघका अध्यक्ष रामहरी कार्कीले महासंघमा आबद्ध सदस्य, पूर्व अध्यक्ष, सल्लाहकार, शुभेच्छुक तथा प्रेस स्वतन्त्रताका पक्षधर सबैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

महासंघको ऐतिहासिक योगदानप्रति उच्च सम्मान प्रकट गर्दै उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहभागी भई सहादत प्राप्त गरेका पत्रकारहरूलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे। साथै, बेपत्ता तथा घाइते पत्रकारहरूप्रति गहिरो स्मरण गर्दै महासंघको उद्देश्य प्राप्त गर्न अझ सशक्त रूपमा लाग्नुपर्ने आवश्यकता औंल्याए।

कोरोना महामारीपछि मुलुक आर्थिक संकटको सामना गरिरहेको अवस्थामा पत्रकारिता क्षेत्रले थप चुनौती बेहोर्नुपरेको उल्लेख गर्दै अध्यक्ष कार्कीले सञ्चारमाध्यमका श्रमजीवी पत्रकारहरूको हकहित र अधिकार संरक्षणका लागि महासंघले निरन्तर पहल गरिरहने बताए।

त्यसैगरी, सरकारले सङ्घीय संसदमा दर्ता गराएको सामाजिक सञ्जाल प्रयोग तथा नियमनसम्बन्धी विधेयकका केही प्रावधानहरूले प्रेस स्वतन्त्रतामाथि अवरोध पुर्‍याउन सक्ने भन्दै उनले सच्याएर मात्र विधेयक अघि बढाउन माग गरे।

महासंघले अगाडि सारेका श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, साना लगानीका गैरनाफामूलक सञ्चारमाध्यमको प्रवर्द्धन, पत्रकारको दक्षता अभिवृद्धि, सार्वजनिक सेवा प्रसारक संस्थाको स्थापना, प्रेस काउन्सिलको पुनर्संरचना, समानुपातिक विज्ञापन व्यवस्था, पत्रकारका लागि स्वास्थ्य बीमा, जीवन निर्वाह भत्ता र आमसञ्चार विकास कोष स्थापनाजस्ता विषयमा सरकारको ध्यानाकर्षण गराउँदै उनले तत्काल आवश्यक पहल गर्न आग्रह गरे।

अन्त्यमा, महासंघको स्थापना दिवसको अवसरमा उनले पत्रकारिता क्षेत्रका चुनौती सामना गर्दै समाजले अपेक्षा गरेको भूमिकामा दृढतापूर्वक लाग्न सबै पत्रकारहरूलाई  अपिल गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय