
सिड्नी, अस्ट्रेलिया – अस्ट्रेलियामा रहेका नेपाली क्रिस्चियन समुदायको सशक्त प्रतिनिधित्व गर्ने उद्देश्यले ‘नेप्लिज क्रिस्चियन सोसाइटी अस्ट्रेलिया (NCSA)’ गठन गरिएको छ। यसअघि सिड्नी नेपाली क्रिस्चियन कम्युनिटी (SNCC) को रूपमा परिचित समूहको नाम परिवर्तन गर्दै नवगठित संस्थालाई आधिकारिक रूपमा दर्ता गर्ने निर्णय गरिएको छ।
आईतवार लिभरपुलस्थित युनाइटेड नेपाली क्रिस्चियन चर्चमा सम्पन्न बैठकले संस्थाको नाम परिवर्तन गर्नुका साथै ११ सदस्यीय कार्यसमिति चयन गरेको छ। नवगठित समितिको अध्यक्षमा विजय कुमार श्रेष्ठ चयन भएका छन् भने उपाध्यक्षमा रुद्र पौडेल र पास्टर अनिश रिमाल मनोनीत भएका छन्। महासचिवमा तेज प्रजापति, सचिवमा पास्टर केदार (जीवन) रायमाझी, कोषाध्यक्षमा लोगन कुँवर, र उपकोषाध्यक्षमा इजेकीएल लामा चयन भएका छन्। त्यस्तै, कार्यसमितिका सदस्यहरूमा पास्टर अनिल श्रेष्ठ, विनय कुमार सिन्चुरी, र सन्तोष नेपाली रहेका छन् भने विष्णु खत्री सल्लाहकारका रूपमा रहनेछन्।

संस्थाले अस्ट्रेलियामा रहेका नेपाली तथा नेपाली क्रिस्चियन समुदायको हकहितमा कार्य गर्ने बताइएको छ। कुनै पनि विशेष सम्प्रदायको प्रतिनिधित्व नगर्ने र कुनै चर्चको आन्तरिक गतिविधिमा हस्तक्षेप नगर्ने नीति लिइएको अध्यक्ष श्रेष्ठले जानकारी दिए। साथै, समान उद्देश्य भएका अन्य संस्थाहरू (जस्तै, INFA) सँग सहकार्य गर्दै समुदायलाई थप व्यवस्थित बनाउने योजना रहेको उनले बताए।
संस्थाको आगामी रणनीति र कार्ययोजनाबारे छलफल गर्न ९ मार्च २०२५ मा सिड्नी नेपाली चर्च, ओबर्नमा अर्को बैठक बस्ने तय गरिएको छ।
News Source: Bachannews.com Australia












