अष्ट्रेलियन नेप्लिज जर्नालिस्ट एशोसिएसन (एञ्जा)को तेस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। फेब्रुअरी २१ र २२ मा अष्ट्रेलियाको राजधानी क्यानबेरामा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ, जसमा अध्यक्ष पदमा कृष्ण तिवारी निर्वाचित भएका छन्।

४३ जना मताधिकार सदस्य रहेको निर्वाचनमा तिवारीले २५ मत प्राप्त गर्दै प्रतिस्पर्धी नारायण खड्कालाई पराजित गरे, जसले १८ मत प्राप्त गरे। उपाध्यक्ष पदमा माधव प्रसाद गैरे २२ मतका साथ निर्वाचित भए भने प्रकाश हुमागाईंले १९ मत र सीता कुमारी विश्वकर्माले २ मत प्राप्त गरे।

सदस्य पदका लागि सरल गुरुङ (४० मत), विनायक अधिकारी (३४ मत), गोपाल छन्त्याल (३३ मत) र केदार रायमाझी (२७ मत) निर्वाचित भए। महासचिवमा गणेश भट्ट, कोषाध्यक्षमा खगेन्द्र सत्याल र सचिवमा तक्दिर अधिकारी सर्वसम्मत रूपमा चयन भएका छन्।

संघका संस्थापक एवं संरक्षक हेमन्त काफ्लेले निर्वाचनको नतिजा स्वागतयोग्य रहेको भन्दै नयाँ नेतृत्वले संस्थालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। उनले प्रजातान्त्रिक प्रक्रियाबाट सम्पन्न निर्वाचनले समुदायमा सकारात्मक प्रभाव पार्ने बताए।

नवनिर्वाचित पदाधिकारीहरूलाई सम्मान गर्न आयोजित कार्यक्रममा नेपालकी अष्ट्रेलियाका लागि राजदूत चित्रालेखा यादव, एनआरएनए अध्यक्ष अनिल पोखरेल, क्षेत्रीय संयोजक दिनेश पोखरेल, तराई समाज अष्ट्रेलियाका अध्यक्ष रञ्जित शाह, नारी निकुञ्जकी राष्ट्रिय संयोजक सङ्गीता चापागाईं लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। अतिथिहरूले प्रवासमा रहेर सामुदायिक पत्रकारिता गरिरहेका पत्रकारहरूको योगदानको प्रशंसा गर्दै उच्च पत्रकारिता एथिक्स पालना गर्न सुझाव दिए। एनआरएनए अध्यक्ष अनिल पोखरेलले मर्यादित पत्रकारिताको आवश्यकतामा जोड दिँदै पत्रकारहरूको अहोरात्र निःस्वार्थ सेवा प्रति धन्यवाद व्यक्त गरे।

यसै अवसरमा, अष्ट्रेलियामा लामो समयदेखि पत्रकारिता गर्दै आएका सरल गुरुङलाई ‘स्वर्गीय टिका कार्की सक्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ। नेपाल ट्युबका सम्पादक गुरुङले प्रवासी नेपाली समुदायका गतिविधि निरन्तर सम्प्रेषण गर्दै आएको उल्लेख गर्दै पुरस्कार ग्रहण गर्दा भावुक बने। उनले यस सम्मानले आफूलाई थप जिम्मेवार बनाएको बताउँदै पत्रकारितालाई अझ निष्ठापूर्वक अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे।

स्व. टिका कार्कीको सम्झनामा स्थापित उक्त पुरस्कारको राशि एक हजार एक अष्ट्रेलियन डलर रहेको छ, जसको छनोट प्रक्रिया तीन सदस्यीय समितिले सम्पन्न गरेको थियो। समितिको संयोजकत्व लेखिका एवं सामाजिक अभियन्ता प्रतिज्ञा अधिकारीले गरेकी थिइन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय