काठमाडौं २७ फागुन।तामाङ सांगीतिक क्षेत्रमा नयाँ सिर्जनासहित गायिका सनिता स्याङ्तानले आफ्नो वास्तविक जीवन कथामा आधारित गीत ‘अभागी कर्म’ सार्वजनिक गरेकी छिन्। गत हप्ता Donbo Media मार्फत बजारमा आएको यस गीतमा तामाङ समुदायका महिलाले भोग्नुपरेका पीडा, संघर्ष र सामाजिक यथार्थलाई उजागर गरिएको छ।
गीतको शब्द रचना पृथक शब्दकार धनराज लामा र स्वयं सनिता स्याङ्तानले गरेका छन् भने संगीतकार प्रताप जिम्बाको भावनात्मक संगीत समावेश छ। यस गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ कार्साङ लामाले गरेका छन्। सायरीमा स्वर रोजिना पाख्रीनको रहेको छ भने कोरस गायनमा केटातर्फ कार्साङ लामा र केटीतर्फ सुमिना लो तथा रन्जिता तामाङको आवाज सुन्न सकिन्छ। गीतको पोस्ट डिजाईन युवा गायक तथा संगीतकार साङ्गे लामाले तयार गरेका हुन्।
सनिता स्याङ्तानले यस गीत आफ्नै जीवनका भोगाइबाट प्रेरित भएर लेखिएको खुलासा गर्दै भनेकी छिन्, “मान्छे पढेर भन्दा परेर चेत्दो रहेछ। म यस्तो पीडाको भुमरीमा परेँ, त्यसैले म जस्तो अन्य दिदीबहिनीहरू पनि यस्ता दुखद अवस्थाबाट नजाउन् भन्ने उद्देश्यले यो गीत सार्वजनिक गरेकी हुँ।”
‘अभागी कर्म’ गीतले समाजमा रहेका कुरीति, महिलाहरूको पीडा, संघर्ष र आत्मसंकल्पलाई प्रस्तुत गरेको छ। गीत सार्वजनिक भएसँगै दर्शक तथा श्रोताहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
यस गीतलाई Donbo Media को आधिकारिक युट्युब च्यानलमार्फत हेर्न र सुन्न सकिन्छ।












