ललितपुर, चैत १२ – ललितपुर जिल्लामा बितेको एक वर्षमा ९५५ जनामा क्षयरोग पुष्टि भएको छ भने १७ जनाको मृत्यु भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार अन्य जिल्लाको तुलनामा ललितपुरले क्षयरोग नियन्त्रणमा प्रभावकारी भूमिका खेलेपनि अवस्था अझै सन्तोषजनक छैन।
जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. भुवन पौडेलका अनुसार नेपालमा क्षयरोगको अवस्था भयावह बन्दै गएको छ। विश्व क्षयरोग दिवसको अवसरमा आयोजित सञ्चारकर्मी भेटघाट कार्यक्रममा उनले भने, “क्षयरोग पत्याउनै नसकिने गतिमा फैलँदो छ। कतिपय संक्रमित उपचारका लागि सम्पर्कमा नआउँदा संक्रमण दर अझै बढ्ने जोखिम छ। त्यसैले यसबारे जनचेतना आवश्यक छ।”

ललितपुर जिल्लामा सबैभन्दा बढी क्षयरोग ललितपुर महानगरपालिकामा देखिएको छ। जनसंख्याको घनत्व बढी भएकाले संक्रमणको जोखिम पनि उच्च रहेको चिकित्सकहरूको भनाइ छ। हाल जनस्वास्थ्य कार्यालय ललितपुरले प्रदेश र संघीय सरकारको नीति अनुसार क्षयरोग नियन्त्रणका प्रयास अघि बढाएको छ।
नेपालमा हरेक वर्ष १६ हजारको मृत्यु
नेपालमा हरेक वर्ष १६ हजार मानिसले क्षयरोगकै कारण ज्यान गुमाउने गरेका छन् भने वार्षिक ६८ हजार ५ सय नयाँ संक्रमित थपिने गरेका छन्। पछिल्ला वर्षहरूमा संक्रमण दर बढ्दै गएको भए पनि बजेट र स्रोत–साधन अभावका कारण नियन्त्रणमा चुनौती थपिएको छ।
नियन्त्रण प्रयास प्रभावकारी बनाउन पहल
नेपाल सरकारका तीनै तहका सरकारले क्षयरोग नियन्त्रणका लागि काम गरिरहेका छन्। तर, चिकित्सकहरूका अनुसार यी प्रयास प्रभावकारी छैनन्। क्षयरोग नियन्त्रणका लागि व्यापक जनचेतना, प्रभावकारी उपचार अभियान र पर्याप्त बजेट विनियोजन गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।












