काठमाडौँ, चैत २४ – नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति अन्तर्गत २०८१ चैत २० गतेदेखि सुरु भएको चरणबद्ध आन्दोलनप्रति नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश समितिले ऐक्यबद्धता प्रकट गरेको छ। महासंघले सामुदायिक विद्यालयका शिक्षकहरूको सेवा, सुरक्षा, समान सुविधा, वृत्तिविकास लगायतका माग राख्दै आन्दोलन सुरु गरेको हो।
प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश अध्यक्ष क. सरल सहयात्रीले शिक्षकहरूका मागहरू जायज र समाधान गर्न योग्य रहेको बताउँदै सरकारलाई गम्भीर ध्यान दिन आग्रह गरेका छन्। उनले शिक्षामा गुणस्तर, पहुँच, नीतिगत स्पष्टता, पारदर्शिता र शिक्षकमैत्री वातावरण निर्माणका लागि महासंघले राखेका मागहरू सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्।

बागमती प्रदेश समितिले आन्दोलनलाई शान्तिपूर्ण, बैज्ञानिक र लोकतान्त्रिक तरिकाबाट अघि बढाउने महासंघको निर्णयको समर्थन गर्दै शिक्षकहरूको हकहितका लागि सम्पूर्ण रूपमा साथ दिने बताएको छ।
विज्ञप्तिमा शिक्षामा देखिएका विकृति, विसंगति र असमानता अन्त्य गरी वैज्ञानिक र सर्वसुलभ शिक्षा प्रणाली निर्माणमा सबै पक्षले ध्यान दिनुपर्ने उल्लेख छ ।













