धनकुटा, चैत२६ – ऋण तिर्न नसकेर घरजग्गा गुमाउने अवस्थामा पुगेका धनकुटा नगर क्षेत्रका सीमान्तकृत आठपहरिया समुदायको राहतका लागि धनकुटा नगरपालिकाले महत्वपूर्ण कदम चालेको छ। नगरपालिकाले समस्यामा परेका २९८ आठपहरिया परिवारको ऋण तिरिदिने निर्णय गरेको छ।

धनकुटामा आयोजित “एकल जातीय सांस्कृतिक पहिचान” सम्बन्धी कार्यक्रममा बोल्दै नगर प्रमुख चिन्तन तामाङले चालु आर्थिक वर्षमा ४३ परिवारको ऋण नगरपालिकाले तिरिदिने र बाँकीको ऋण आगामी आर्थिक वर्षमा तिरिने जानकारी दिए।

धनकुटा नगर क्षेत्रलाई आठपहरिया जातिको ऐतिहासिक उद्गम स्थलका रूपमा चिनिन्छ। यहाँ ८ हजारभन्दा बढी आठपहरियाहरूको बसोवास रहेको छ। दैनिक जीवनयापनका लागि ऋण लिएका तर समयमै तिर्न नसक्दा घरजग्गा गुमाउने स्थितिमा पुगेका ती परिवारहरूलाई प्रति परिवार एक लाख रुपैयाँसम्मको ऋण तिरिने बताइएको छ।

नगरपालिकाले यसअघि पनि आठपहरिया समुदायको जीवनस्तर उकास्न विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। समुदायका घरमा टिनको छाना राखिदिनेदेखि लिएर, बिहिबारे हटियामा आठपहरिया जातिको संग्रहालय निर्माणजस्ता कार्यहरू सम्पन्न गरिएका छन्।

नगर प्रमुख तामाङले आठपहरिया समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक उत्थानका लागि नगरपालिका निरन्तर क्रियाशील रहने प्रतिवद्धता जनाए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय