
काठमाडौं, चैत २७ –लगातारको खडेरी र डढेलोका कारण वायुप्रदूषणले गाँजिएको काठमाडौंमा बुधबार दिउँसो वर्षा भएको छ। २७ दिनपछि परेको वर्षाले उपत्यकामा प्रदूषण कम हुने आशा गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार दिउँसो हल्का पानी परेको छ भने साँझ र भोलि बिहान पनि पानी पर्ने सम्भावना छ। ‘आजको वर्षाले थोरै राहत दिन्छ, तर भोलिको पानीले प्रदूषण अझै घटाउन सक्छ,’ उनले बताए।
साँखुमा पछिल्लो तीन घण्टामा २०.२ मिलिमिटर पानी मापन गरिएको छ। उपत्यकाका अन्य स्थानहरूमा पनि छिटफुट पानी परेको छ। काठमाडौंसहित झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान, दाङलगायत स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।
मंगलबार पनि मध्य र पूर्वी नेपालका केही जिल्लामा पानी पर्यो। हालको वर्षा पश्चिमी वायु, स्थानीय वायुरेखा र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको असरका कारण भएको हो, जुन प्रणाली शुक्रबारसम्म सक्रिय रहने अनुमान छ।
अगामी २४ घण्टामा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पनि पानी पर्ने सम्भावना छ। यसबाट देशभर छाएको बाक्लो तुवाँलो केही हट्ने अनुमान गरिएको छ।
वायुप्रदूषण सूचकांक (AQI) सोमबारसम्म २०० माथि थियो, जुन मंगलबार घटेर बुधबार १८६ मा झरेको छ। यद्यपि यो अझै अस्वस्थकर मानिन्छ।
यसअघि काठमाडौंमा अन्तिमपटक १३ र १४ मार्चमा वर्षा भएको थियो। त्यसपछि मार्च २२ र २३ मा केही स्थानहरूमा थोरै छिटो परेको थियो।












