
काठमान्डौ -११ अप्रैल तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनको मुख्य योजनाकारका रूपमा पहिचान गरिएका दुर्गा प्रसाईं अन्ततः प्रहरी नियन्त्रणमा आएका छन्। प्रहरीले लामो अनुसन्धानपछि भारतको आसाम राज्यको गुवाहाटीबाट उनलाई पक्राउ गरेको हो।
प्रसाईंलाई पक्राउ गर्नका लागि प्रहरीको विशेष टोली भारत पुगेर स्थानीय सुरक्षा निकायको सहयोगमा अभियान चलाएको थियो। प्रहरी स्रोतका अनुसार, उनी सीमावर्ती क्षेत्रमा केही समय लुकेर बसेका थिए र पछि गुवाहाटी पुगेका थिए। त्यहाँबाट उनलाई नियन्त्रणमा लिएर झापा हुँदै विमानमार्फत काठमाडौं ल्याइएको हो।
तीनकुनेमा भएको प्रदर्शनमा लुटपाट, तोडफोड र आगजनी मात्र होइन, दुई जनाको ज्यानसमेत गएको थियो। घटनापछि फरार रहेका प्रसाईंले सामाजिक सञ्जालमार्फत दुईवटा भिडियो सार्वजनिक गर्दै आफू भागेको नभई ‘सुरक्षित स्थानमा’ रहेको दाबी गरेका थिए। तर प्रहरीको अनुसन्धानले उनी लगातार स्थान परिवर्तन गर्दै भारतभित्र लुकेर बसेको पुष्टि गरेको छ।
आज बिहान झापाको चन्द्रगढी विमानस्थलबाट काठमाडौं ल्याइएका प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ। उनलाई झापाबाट काठमाडौं ल्याउँदा हतकडी लगाइएको थियो भने उनका निजी सुरक्षा सहयोगी दीपक खड्कासमेत साथमा थिए। दुबैलाई बुद्ध एयरको नियमित उडानमार्फत काठमाडौं ल्याइएको हो।
प्रहरी अनुसन्धानको प्रारम्भिक रिपोर्ट अनुसार, तीनकुनेको घटनामा पूर्व-नियोजित रणनीति प्रयोग गरिएको देखिन्छ। घटनाको दुई दिन अघिदेखि प्रसाईंले विभिन्न समुहसँग छलफल गरेको, सामाजिक सञ्जालमार्फत ‘आन्दोलनको अपिल’ गरेको प्रमाण भेटिएको बताइएको छ।
अब प्रहरीले प्रसाईंलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाउने तयारी गरेको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी पनि तीव्र पारिएको छ। प्रहरीले अनुसन्धानपछि उक्त प्रदर्शनलाई ‘स्वाभाविक आन्दोलन’ नभई ‘संगठित हिंसात्मक योजना’को रूपमा लिने देखिन्छ।
















