
ललितपुर, ३० चैत ।तिनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठद्वारा नि:शुल्क शिक्षाको प्रबन्ध गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
कोषाध्यक्ष श्रेष्ठले मृतक श्रेष्ठको परिवारको आर्थिक अवस्था कमजोर भएको जानकारी पाएकोले उनको छोरीलाई कक्षा १२ सम्म निशुल्क शिक्षाको प्रबन्ध गरिएको जानकारी गराउनु भएको हो।
“मृतकको परिवारसंग पनि कुरा भयो, उनीहरुको आर्थिक अवस्था कमजोर रहेको थाहा भयो, राम्रो विद्यालयमा पढाउने इच्छा रहेछ, उनीहरूको इच्छा अनुसार महर्जनकी आठ वर्षीया छोरीलाई कीर्तिपुरको ल्याबोरेटरी स्कूलमा कक्षा १२ सम्म निःशुल्क अध्ययन गर्ने व्यवस्था गरिदिएको हुँ। विद्यालय प्रशासन र किर्तिपुर नगरपालिकाका नगरप्रमुखसंग समेत यस बिषयमा कुरा भएको छ।” श्रेष्ठले भन्नुभयो ।
शिक्षासेवी एवम् राजनीतिज्ञ श्रेष्ठले लामो समयसम्म शैक्षिक क्षेत्रमा योगदान गर्दा धेरैलाई सहयोग गरेको बताउँदै आफ्नो अभिभावक गुमाएकी बालिकाको शिक्षादिक्षाका लागि मानवीयताका आधारमा सहयोग गर्ने बताउनुभयो ।
नेपाल महिला संघकी अध्यक्ष उषा राउत मिश्र र मानव अधिकार आयोगकी आयुक्त लिली थापाले आफूलाई मृतकका परिवारको बारेमा जानकारी गराउँदै आवश्यक व्यवस्थाका लागि अनुरोध गरेको काँग्रेस कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो ।
शुक्रबार बिहान मानव अधिकार आयोगकी आयुक्त लिली थापाको फोन आएपछि आफूले तत्कालै काँग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठलाई सम्पर्क गरी सविन महर्जनको परिवारको अवस्थाबारे जानकारी गराएको उषा राउत मिश्रले बताउनुभयो । “उहाँले गम्भीरताका साथ यो विषयमा चासो देखाउँदै विद्यालय प्रशासनमा सम्पर्क गरी आवश्यक प्रक्रिया अघि बढाउनुभयो, कीर्तिपुर नगरपालिकाका प्रमुखसंग।समेत समन्वय गरेर सिफारिस पत्रसमेत तयार पारिएको छ, महर्जनकी श्रीमती भविसा महर्जनसँग फोनमा कुरा गरी छोरीलाई ल्याबोरेटरी स्कूलमा कक्षा १२ सम्म निःशुल्क पढाइने कुरा आश्वासन दिनुभएको छ,यो सानो प्रयासले त्यो परिवारलाई केही राहत मिल्ने आशा गरेको छु ।” मिश्रले भन्नुभयो ।—