नयाँ दिल्ली । जम्मू–कश्मीरको पहलगाममा भएको आतंकी हमलाले भारतको राष्ट्रिय सुरक्षा रणनीतिमा एकदमै ठूलो प्रभाव पारेको छ। बैसरण उपत्यकामा भएको भीषण आक्रमणमा २७ जनाको ज्यान गएपछि भारतले पाकिस्तानविरुद्ध कठोर कूटनीतिक र भूराजनीतिक कदमहरू चालेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बुधबार प्रधानमन्त्री निवासमा बसेको सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समिति (CCS) को साढे दुई घण्टा लामो आपतकालीन बैठकले पाँचवटा प्रमुख निर्णय लिएको छ, जसले भारत–पाकिस्तान सम्बन्धमा नयाँ अध्याय सुरु गराएको छ।

बैठकले सिन्धु जल सम्झौता रोक्ने, अटारी सीमाबाट आवतजावत बन्द गर्ने, र पाकिस्तानी नागरिकहरूका लागि भिसा प्रतिबन्ध लागू गर्ने निर्णय गरेको छ। साथै, पाकिस्तानमा रहेको भारतीय दूतावास बन्द गर्ने र भारतस्थित पाकिस्तानी दूतावास पनि बन्द गर्न प्रक्रिया सुरु गरिएको छ। पाकिस्तानी कूटनीतिज्ञहरूलाई ७ दिनभित्र भारत छोड्न निर्देशन दिइएको छ।

बैठकमा रक्षा मन्त्री राजनाथ सिंह, गृह मन्त्री अमित शाह, विदेश मन्त्री एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसहित शीर्ष अधिकारीहरूको सहभागिता थियो।

पहलगामको बैसरण क्षेत्रमा भएको आतंकी आक्रमण सो समय भयो जब ठूलो संख्यामा पर्यटकहरू उपत्यकामा घुमिरहेका थिए। मृत्यु हुनेहरूमा भारतका विभिन्न राज्यहरूका नागरिकहरूका साथै नेपाल र युएईका पर्यटकहरू पनि परेका छन्। आक्रमणमा २० जनाभन्दा बढी घाइते छन्।

भारतले अब पाकिस्तानसँगको सम्पर्क, संवाद र सहकार्य सबै तहमा स्थगित गर्ने स्पष्ट संकेत दिएको छ। यी निर्णयहरूले क्षेत्रीय राजनीति र सुरक्षा सन्तुलनमा ठूलो असर पार्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय