ललितपुर, ११ बैशाख: उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले लोकतान्त्रिक व्यवस्थामा मात्रै खेलाडीहरुको हीत भएको बताउनुभएको छ।
यल सितोरियो कराते डोद्वारा आज बिहिवार नेपाल कराते एकेडेमी सातदोबाटो ललितपुरमा आयोजित प्रथम शेरबहादुर देउवा कप राष्ट्रिय कराते प्रतियोगिता २०८२ को उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री सिंहले राणा शासन व्यवस्था र पञ्चायतकालमा जनताको छोराछोरीलाई मार्सल आर्टका खेल प्रतियोगितामा खेल्ने अवसर नभएको बताउनुभएको हो ।
“नेपालको खेलकुदमा नया पुस्ताले लोकतान्त्रिक व्यवस्थामा भएको महत्त्वपूर्ण व्यवस्थालाई भुल्नुहुँदैन, लोकतान्त्रिक व्यवस्थामा मात्रै खेलाडीहरुको हीत भएको देखिन्छ, वि.सं. २०४६ अगाडि मार्सल आर्टका खेल नेपाली सेना र प्रहरीले मात्रै खेल्न पाउँथे, सर्वसाधारणले खेल्न पाउने अवसर नै थिएन, लोकतन्त्र आएपछि मात्रै खेलाडी र खेलकुदको विकासमा काम भएको हो।” उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।
उहाँले राज्यले खेलकुदमा लगानी गर्दा स्वस्थ्य र अनुशासित नागरिक तयार गर्नका लागि महत्वपूर्ण काम हुने धारणा राख्नुभयो।
“खेलाडीहरुमा छिटो निर्णय गर्न सक्ने क्षमता र शक्तिको विकास हुन्छ, पहिला छोरीहरुलाई पढाउनु हुँदैन भन्ने धारणा थियो, अहिले त महिलाहरुले पनि उत्कृष्ट खेल प्रदर्शन गरिरहेका छन्,प्रथम शेरबहादुर देउवा कप भएको छ, नेपालको लोकतान्त्रिक आन्दोलनमा ठूलो संघर्ष गरेको नेतृत्वको नाममा भएको प्रतियोगिताले खेलाडी र खेलको सम्मान हुनेछ, खेलाडीहरुको बिकास हुनेछ, यसको सफलतासंगै खेलाडीरहरूको प्रगतिको कामना गर्दछु, उत्कृष्ट खेल प्रदर्शन गरेर सिकेको सीपलाई उपयोग गर्ने प्रेरणा मिल्ने छ।” उहाँले भन्नुभयो ।
उपप्रधानमन्त्री सिंहले अहिले नागरिकहरुमा अधिकारको कुरा मात्रै गर्ने प्रबृत्ति बढेको भन्दै जिम्मेवारी पनि नभुल्न आग्रह गर्नुभयो ।
“हामी अधिकारका कुरा ठूलो स्वरले गर्छौं, तर कर्तव्य र जिम्मेवारीका बिषयमा पनि त ध्यान दिनु पर्यो नि!” उहाँले भन्नुभयो ।
उहाँले खेलाडीहरुको महत्त्व राष्ट्रले बुझेको बताउँदै अझै गरिमा बढाउन हामी सबै मिलेर लाग्नेछौं भन्ने प्रतिवद्धता जनाउनुभयो।
पूर्वस्वास्थ्य मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले कम स्रोत र साधनका बाबजुद पनि नेपाली खेलाडीहरुले विकसित मुलुकका खेलाडीहरुसंग प्रतिस्पर्धा गरेर स्वर्ण पदक दिलाउन सकेको भन्दै खेलाडीहरुको प्रशंसा गर्नुभयो । “उहाँले स्रोत र साधनका साथ अवसर दिने हो भने नेपाली खेलाडीहरुले विश्वस्तरमा प्रतिस्पर्धा गरेर उत्कृष्ट स्थान हासिल गर्न सक्ने छन्, खेललाई व्यवसायीकरण गर्न नसक्ने हो भने नेपालमा युवा पलायन मात्रै नभई उत्कृष्ट खेलाडीहरुको समेत अभाव हुने अवस्था छ, खेलकुदका क्षेत्रमा उधारोमा पुरस्कार घोषणा गर्ने प्रवृत्तिले खेलाडीहरुमा निराशा छाएको छ, त्यसैले नेपाली कांग्रेसको सभापति कप गर्दा डालोमा पैसा बोकेर पुरस्कार दिएरै देखाउनुपरेको हो।” उहाँले भन्नुभयो ।
उहाँले खेल र खेलाडीलाई प्रोत्साहन गर्न नेताहरुका नाममा मात्रै नभै देशका लागि उत्कृष्ट योगदान गर्ने राष्ट्रिय व्यक्तित्वको नाममा समेत प्रतियोगिता गर्न सकिने धारणा राख्नुभयो।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम राष्ट्रियसभा सदस्य जीतजंग बस्नेतले यस्ता प्रतियोगिताहरुले खेल र खेलाडीहरुको सम्मान र प्रोत्साहन हुने भन्दै खेलाडीहरुलाई उत्कृष्ट खेल प्रदर्शनको शुभकामना व्यक्त गर्नुभयो।
नेपाल कराते महासंघका महासचिव दावा गुरुङले कराते खेल खेलाडीहरुको क्षमता बढाउने मात्रै नभई आत्मरक्षा गर्न सक्षम बनाउने खेल भएको बताउनुभयो । उहाँले खेलको अनुशासनभित्र रहेर खेलाडीहरुले देशको सान बढाउने गरी अव्वल दर्जाको प्रतिभा प्रस्फुटन गर्नुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेस बागमती प्रदेशका उपसभापति एवम् संविधानसभा सदस्य चन्द्र महर्जनले खेलकुदमा लाग्नेहरुलाई समयसमयमा हुने प्रतियोगिताले क्षमतावान खेलाडी उत्पादन हुने भन्दै तीनै तहका सरकारले उचित नीति तथा कार्यक्रम बनाएर बजेटको व्यवस्थापन गर्नुपर्नेमा बताउनुभयो ।
नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य कवेलबहादुर लामाले खेलकुदको क्षेत्रमा लाग्नेहरुलाई सरकारले प्रोत्साहन गर्ने खालका कार्यहरु गर्नुपर्नेमा जोड दिनुभयो ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान राख्न सक्ने खेलाडी उत्पादनका लागि सहयोग पुर्याउने अभिप्रनयले यो र यस्ता प्रतियोगितालाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएको जानकारी गराउनुभयो। सात वटा प्रदेश र तीन वटा विभागीय टिमको सहभागिता रहेको यो प्रतियोगिता बैशाख १३ गतेसम्म सञ्चालन हुने उहाँले जानकारी गराउनुभयो।—












