ललितपुर/ ११ बैशाख: उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले इन्जिनियरहरुलाई राष्ट्रको आवश्यकता र जनताको माग अनुसारको विकास निर्माणमा जोड दिनुपर्छ भन्नेमा ध्यानदिन आग्रह गर्नुभएको छ।
सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स एशोसियशन (सिडेन)को आज बिहिबार ललितपुरमा आयोजित दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री सिंहले निर्माण हुने संरचना र विकासका आयोजनाहरुको तय गर्दन नेपालको जनताको आवश्यकता के छ भन्ने कुरालाई ध्यान दिएर सकरात्मक नवप्रवर्तन र प्रविधिमा ध्यान दिनुपर्ने बताउनुभएको हो ।
“लोकतान्त्रिक मुल्यमान्यता अनुसारको प्रणाली स्थापित नभएसम्म नेपालीको भविष्य सुनिश्चित हुँदै भनेर विगतमा आन्दोलन गरेको हो, कांग्रेस कम्युनिस्ट मिलेर २०४६ र २०६२/६३ को परिवर्तन भयो, अब जनताको इच्छा अनुसार प्राप्त अधिकारलाई सुरक्षित गर्दै राजनीतिक स्थायित्व र स्थिताका लागि आर्थिक समृद्धितिर ध्यान दिनु छ, यसका लागि पनि कांग्रेस र कम्युनिस्ट मिलेर कमीकमजोरी सुधार गर्दै अगाडि बढ्नुपर्छ, कानूनी रुपमा भएका समस्या सुधार गर्न लाग्नेछौँ, प्राप्त गणतन्त्रको अधिकारलाई सुरक्षित गर्दै दिगो विकास र जिम्मेवारीपूर्ण कामका लागि ध्यान दिओैं।” उहाँले भन्नुभयो ।
उर्जा, जलस्रोत तथा सिचाईँ मन्त्री दिपक खड्काले गुणस्तरीय निर्माणलाई ध्यान दिनुपर्ने आवश्यकता रहेको बताउँदै यसका लागि समयसापेक्ष कानून निर्माणमा बाधक भएका कानून संशोधन गर्न सरकार तत्पर रहेको बताउनुभयो ।
“मुलुकको आवश्यकतालाई मुल्यांकन गरेर काम गर्छौं, समृद्धि हासिल गर्न १५ हजार मेगावाट विद्युत भारतमा व्यापार गर्ने बाटो खुलेको छ, एउटै आयोजना बुढिगण्डकीको सुरुजात गर्दा १७ हजार रोजगारी सृजना हुन्छ, यसलाई महसुस गरेर हामीले काम गरिरहेका छौँ।” उहाँले भन्नुभयो ।
उहाँले आन्तरिक झैझगडालाई समाधान गर्दै विकास र समृद्धिमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल इन्जिनियर्स एशोशियशनको केन्द्रीय अध्यक्ष सुवासचन्द्र बरालले विकास निर्माणसंग जोडिएको शीर्षकमा आधारित रहेर दिगो विकासका लागि ध्यान दिएर गरिएको यो कार्यक्रमले सकरात्मक भूमिका निर्वाह गर्ने विस्वास व्यक्त गर्नुभयो । उहाँले दिगो विकासका लागि राजनीतिक प्रतिवद्धता आवश्यक रहेको धारणा राख्नुभयो।
बरालले सिडेनको यो सम्मेलनले यस क्षेत्रमा रहेका चुनौतीलाई समाधान गर्न बल पुग्ने विश्वास व्यक्त व्यक्त गर्नुभयो ।
सिडेनका अध्यक्ष इन्जिनियर लक्ष्मण के.सी.ले इन्जिनियर क्षेत्रमा भएका प्रशस्त सभ्भावनाहरुको छलफल गरेर प्रविधिको विकास अनुरुप दिगो विकासका लागि रहेका बाधा हटाउनका लागि नीतिगत व्यवस्थाका लागि सरकार र संसदलाई सुझाव दिन सम्मेलन आयोजना गरिएको बताउनुभयो ।
सिडेनका महासचिव इन्जिनियर थमन बहादुर खड्काले संस्थामा हाल ९ हजार ६ सय ४६ जना इन्जिनियरहरु सदस्य रहेको जानकारी गराउनुभयो। जसमध्ये बागमतीमा मात्रै ६ हजार ७ सय भन्दा बढि रहेको उहाँले बताउनुभयो।—












