इलाम, बैशाख १५ – पूर्वी नेपालको हरियालीले भरिएको सुन्दर क्षेत्र कन्याम, अहिले केवल चिया उत्पादनको केन्द्र मात्र नभएर एक उदीयमान अन्तर्राष्ट्रिय व्यापारिक र पर्यटन गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। यहाँ उत्पादन हुने उच्च गुणस्तरको हरियो चिया (Green Tea) र कालो चिया (Black Tea) विश्वका थुप्रै देशहरूमा निर्यात हुँदै आएको छ। युरोप, अमेरिका, जापान, दक्षिण कोरिया, युएई, कतार लगायतका मुलुकमा कन्याम चियाको माग तीव्र गतिमा बढ्दो क्रममा रहेको कन्यामस्थित ‘हाइल्यान्ड टी प्रोसेसिङ सेन्टर’ का एक प्रबन्धक रमेश सिग्देलले जानकारी दिए।
सिग्देलका अनुसार इलामको हावापानी, उचाइ र माटो चिया उत्पादनका लागि अत्यन्त उपयुक्त मानिन्छ। “कन्यामको समुद्री सतहबाट लगभग ४,५०० फिट उचाइमा रहेको स्थानमा उत्पादन भएको चियामा अन्यत्र नपाइने मिठास, सुगन्ध र स्वाद पाइन्छ, जसले अन्तर्राष्ट्रिय बजारमा यसको अलग्गै पहिचान बनाएको छ,” उनी भन्छन्।
कन्याम चिया उद्योगमा हाल करिब १५ भन्दा बढी साना तथा ठूला प्रशोधन उद्योगहरू क्रियाशील छन्। यिनले वार्षिक लाखौं किलो चिया उत्पादन गर्दै आन्तरिक बजारसँगै निर्यात पनि गरिरहेका छन्। किसानहरू चिया खेतीमा व्यस्त छन्, जसले यहाँको ग्रामीण अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याएको छ। “चिया खेतीले हजारौं स्थानीयलाई रोजगारी दिएको छ,” स्थानीय चिया किसान मनकुमारी लिम्बू बताउँछिन्, “यसले युवाहरूलाई विदेश पलायनबाट जोगाएको छ।”
पछिल्ला वर्षहरूमा चिया उत्पादन प्रविधिमा पनि परिवर्तन आएको छ। पहिलेजस्तो हातले मात्र टिप्ने परम्परागत शैलीको सट्टा अब किसानहरूले ‘ह्यान्ड कटर्स’ मेसिन प्रयोग गर्न थालेका छन्। यसले चिया टिप्ने कामलाई सहज बनाउनुका साथै लागत र समय दुवैमा बचत गर्न सहयोग पुगेको किसानहरू बताउँछन्। “अब हातमा बोरा बोकेर घण्टौं बगान घुम्नु पर्दैन, मेसिनले धेरै सहज बनाएको छ,” कन्यामका अर्का किसान रुद्र विकले भने।
चिया उद्योगसँगै कन्याम पछिल्लो समय पर्यटकहरूका लागि पनि आकर्षक गन्तव्य बन्न थालेको छ। हरियाली चियाबगान, फुलबारी, कन्याम व्यूप्वाइन्ट, र सूर्योदय दृश्य हेर्न सकिने स्थानहरू पर्यटकहरूको रोजाइमा पर्न थालेका छन्। वर्षेनी हजारौं आन्तरिक तथा विदेशी पर्यटकहरू यहाँ भ्रमण गर्न आउने गरेका छन्। विशेषतः वसन्त र शरद ऋतुमा कन्याममा पर्यटकहरूको चाप अत्यधिक हुन्छ।
पर्यटन व्यवसायीहरू चिया पर्यटन (Tea Tourism) लाई व्यवस्थित गर्न लागिपरेका छन्। कन्याम चियाबगानमा घुम्ने, चिया टिप्ने तालिम लिने, विभिन्न स्वादका चिया चाख्ने र चिया प्रशोधन हेर्ने विशेष प्याकेजको व्यवस्था गरिएको छ। “हामी चियासँगै संस्कृति र पर्यटनको मिश्रण गरेर नयाँ अनुभव दिन चाहन्छौं,” पर्यटन व्यवसायी राजेश गौतमले बताए। स्थानीय होमस्टे तथा रिसोर्ट व्यवसायले पनि फड्को मारेका छन्।
यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि स्थानीय तह र प्रदेश सरकारलाई अझ सहकार्य आवश्यक भएको सरोकारवालाहरू बताउँछन्। कन्याम क्षेत्रको विकासमा हालसम्म पूर्वाधारको अभाव, बजेटको न्यूनता र दीर्घकालीन योजनाको अभाव देखिएको छ।
स्थानीय बासिन्दा तथा व्यवसायीहरूको माग छ – “सरकारले कन्याम क्षेत्रलाई ‘विशेष चिया तथा पर्यटन क्षेत्र’ को रूपमा घोषणा गरेर दीर्घकालीन पूर्वाधार, बजेट र अन्तर्राष्ट्रिय प्रचारमा ध्यान दिनुपर्छ।”
कन्यामको चिया र पर्यटन दुवैले नेपालको पहिचान अन्तर्राष्ट्रियस्तरमा बढाउन सक्ने अपार सम्भावना बोकेको विश्लेषकहरू बताउँछन्।
– रिपोर्ट: विशु गुरुड, सदस्य – नेपाल पत्रकार महासंघ