
ललितपुर, २० बैशाख: पूर्वउपराष्ट्रपति एवम् नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष नन्दकिशोर पुन(पासाङ)ले गणतन्त्र स्थापनाका लागि मगर समुदायले महत्त्वपूर्ण योगदान दिएको छ भन्नुभएको छ।
नेकपा (माओवादी केन्द्र) पार्टीको को जनवर्गीय संगठन मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको आज शनिबार ललितपुरको चाङ्गाथलीमा आयोजित बागमती प्रदेशको दोस्रो सम्मेलनमा मन्तव्य राख्नुहुँदै पूर्वउपराष्ट्रपति एवम् उपाध्यक्ष पुनःले अधिकार प्राप्त गर्नका लागि आन्दोलन र संघर्ष नै गर्नुपर्ने भन्दै भेला र सम्मेलनलाई ओैपचारिकतामा मात्रै सीमित नराखेर आन्दोलन र अभियानको रुपमा विकास गर्न आग्रह गर्नुभयो ।
” ठूलो वलिदानबाट लोकतान्त्रिक गणतन्त्रमा आएका छौँ, वैज्ञानिक समाजवादी आन्दोलनको काम पुरै बाँकी छ, संविधानमा समाजमा जाने भनेका छौँ, यही संविधानमा टेकेर सर्वहारा वर्गको मुक्तिका लागि पनि हामी लाग्नुपर्ने अवस्था छ।” उहाँले भन्नुभयो ।
उहाँले संसद र सदनमा अंकका हिसाबले कमजोर प्रतिनिधित्व भएपनि मुद्दाका रुपमा सशक्त रहेको भन्दै देशैभर पार्टीले अभियान चलाइरहेको जानकारी गराउनुभयो। उहाँले देशैभर माओवादी प्रति आधारभूत वर्गको सदासयता रहेको जानकारी गराउँदै अभियानले आशातीत उपलब्धि हासिल गरेको बताउनुभयो ।
उहाँले दोस्रो सम्मेलनाट राष्ट्रिय एकता र संघर्षमा योगदान गर्न सक्ने सक्षम नेतृत्व चयन हुने विश्वास व्यक्त गर्नुभयो ।
” हाम्रो काँधमा समुदायको अधिकारका लागि लड्दै आदिवासी जनजातिको हीतका साथसाथै देशको आर्थिक समृद्धिका लागि पनि लाग्नुपर्ने छ, प्राप्त अधिकारलाई उपयोग गर्दै काँधमा आएको जिम्मेवारी र अभिभारालाई सशक्त ढंगले पूरा गर्न आग्रह गर्न चाहान्छु।” उहाँले भन्नुभयो ।
पूर्वउपराष्ट्रपति एवम् उपाध्यक्ष पुनःले मुक्ति मोर्चालाई वर्गीय मुक्तिका साथै समुदाय र वर्गीय मुक्तिको आन्दोलनलाई सशक्त ढंगले अगाडि बढाउन आग्रह गर्नुभयो ।
“वर्गीय मुक्ति भएपछि मात्रै जातीय मुक्ति हुन्छ, शोषित, पीडित सर्वहारा वर्गलाई एकताबद्ध गरि शोषण, विभेद विरुद्ध लाग्न आग्रह गर्न चाहान्छु, आदिवासी जनजातिका विरुद्धमा छरिएका भ्रमलाई चिर्दै मिलेर अगाडि बढ्नु आवश्यकता छ।” उहाँले भन्नुभयो ।
उहाँले महिषपाल वंशका सन्तानहरु क्षत्री समुदायले इतिहासको पहिचान गुमाएको भन्दै उनीहरुका लागि पनि लड्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले मूल आदिवासी र आदिवासीहरू बीचको एकतालाई समेत जोड दिंदै छुट्टाछुट्टै व्याख्या गरेर आर्थिक समृद्धिमा लाग्नुपर्नेमा समेत जोड दिनुभयो। उहाँले नेता र जनताबीचको टुटेको सम्बन्धलाई जोड्दै भएका कमी कमजोरीलाई सुधार्दै सुशासन कायम गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।
पार्टीका केन्द्रीय सदस्य एवम् ललितपुर इन्चार्ज हरि दाहालले जनवर्गीय संगठनको क्रियाशीलताले बिगतमा व्यवस्था परिवर्तन लगायत संविधान निर्माणमा समेत महत्त्वपूर्ण योगदान गरेको भन्दै अवपनि पार्टीलाई देशको नेतृत्वमा स्थापित गर्न सशक्त भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले समाजवादी आन्दोलनसंग जोडेर पार्टीको गतिविधिलाई अगाडि बढाउँदै सर्वहारा वर्गको आन्दोलनमा लाग्नुपर्नेमा जोड दिनुभयो।
मोर्चाका केन्द्रीय महासचिव जीवन प्रवेश रोकामगरले नेपालको राजनीतिक परिवर्तन र घटनाक्रम मगर समुदायले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।
मोर्चाका केन्द्रीय सचिव केशव पुलामी मगरले पार्टी नेतृत्वले सबै जनबर्गीय संगठनलाई एकजुट बनाए अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो। —-