धनकुटा, २४ बैशाख — कानुनी प्रक्रियामा लिखित जवाफ र कानूनी रायको प्रभावकारी प्रयोगबारे जागरूकता अभिवृद्धि गर्ने उद्देश्यले मंगलबार धनकुटामा एक दिवसीय ‘लिखित जवाफ र कानूनी राय सम्बन्धी अनुशिक्षण तथा अन्तरक्रिया कार्यक्रम’ सम्पन्न भएको छ।
कार्यक्रम उच्च अदालत विराटनगर धनकुटा इजलासका माननीय मुख्य न्यायाधीश देशबहादुर सार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा सहभागी वक्ताहरूले रिट मामिलामा लिखित जवाफको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै, तथ्यमा आधारित कानुनी रायको प्रयोगद्वारा अदालतमा प्रस्तुत पक्षहरूको समर्थन र खण्डन गर्न सकिने बताएका छन्।

उनीहरूले लिखित जवाफलाई विधिसम्मत ढंगले प्रस्तुत गर्नु तथा त्यसको बुँदागत पुष्ट्याइ नै कानुनी रायको सारभूत पक्ष भएको स्पष्ट पारे।
उद्घाटन सत्रमा उच्च अदालत विराटनगर धनकुटा इजलासका मुख्य न्यायाधीश देशबहादुर सार्की, माननीय न्यायाधीश पुन्नेश्वर प्रसाद उपाध्याय, जिल्ला अदालत धनकुटाका न्यायाधीश नारायण प्रसाद पराजुली, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, वरिष्ठ अधिवक्ता रोहित डाँगी, उच्च अदालत बार एशोसिएसन धनकुटाका अध्यक्ष दिनेश पौडेल, जिल्ला अदालत बार धनकुटाका अध्यक्ष दीपक गुरागाईंलगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए।
कोशी प्रदेश सरकारका तर्फबाट मुख्य न्यायधिवक्ताको कार्यालय विराटनगरको आयोजनामा सम्पन्न कार्यक्रममा तेह्रथुम, धनकुटा, संखुवासभा र भोजपुर जिल्लाका सरकारी कार्यालय प्रमुख तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको औचित्यबारे उप–न्यायधिवक्ता पदमप्रसाद वस्तीले प्रकाश पार्दै, उच्च अदालत रहेको जिल्लाहरूमा हरेक वर्ष यस्तो खालको कार्यक्रम आयोजना गरिने जानकारी दिए। कार्यक्रमको सञ्चालन सह–न्यायधिवक्ता निर्मला दाहालले गरेकी थिइन्।
अन्तरक्रियाले सरकारी निकायका कर्मचारीहरूलाई लिखित जवाफ र कानूनी रायका प्राविधिक पक्षमा थप दक्षता हासिल गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।












