काठमाडौं | वैशाख २५, २०८२
दसैं पर्वसम्ममा नागढुंगा सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाले सुरुङमार्ग सञ्चालनसम्बन्धी कार्यविधिको मस्यौदा तयार पारी मन्त्रालयमा स्वीकृतिका लागि पठाएको छ।

मस्यौदाअनुसार सुरुङ प्रयोग गरेबापत सवारी साधनहरूबाट न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ५०० रुपैयाँसम्म शुल्क उठाउने प्रस्ताव गरिएको छ। विभागका प्रवक्ता अर्जुन अर्यालका अनुसार साना चारपांग्रे सवारीका लागि ५०, बसका लागि २०० र ठूला ट्रकका लागि ५०० रुपैयाँसम्मको शुल्क निर्धारण गरिएको हो।

मोटरसाइकल तथा पेट्रोल–डिजेल बोक्ने प्रज्वलनशील सवारी सुरुङभित्र प्रवेश गर्न नपाउने मस्यौदामा उल्लेख गरिएको छ। यद्यपि, मोटरसाइकललाई गाडीमा राखेर सुरुङ पार गर्न सकिने व्यवस्था गरिएको छ।

सुरुङमार्गको काम आगामी असोजभित्र सकिने गरी तीव्र रूपमा अगाडि बढिरहेको आयोजनाले जनाएको छ। जापानी निर्माण कम्पनी हाजमा–आन्दो जेभीद्वारा निर्माण भइरहेको सुरुङमा हालसम्म अन्डरपास, बक्स कल्भर्ट, तीनवटा पुल र फ्लाइओभरको निर्माण लगभग सम्पन्न भइसकेको छ।

सुरुङमार्ग सञ्चालनसँगै सुरुङभित्र अक्सिजन, अग्नि नियन्त्रण, सुरक्षा र सञ्चार सेवा शुल्क उठाउने कम्पनीले नै व्यवस्थापन गर्नेछ। यस्तै, विद्युत् आपूर्ति व्यवस्थापनको जिम्मेवारी पनि त्यही निकायको हुनेछ।

हाल शुल्क संकलन कसले गर्ने भन्ने विषयमा भने टुंगो लागेको छैन। विभाग स्रोतका अनुसार निजी क्षेत्रलाई टेन्डरमार्फत जिम्मा दिने तयारी भइरहेको छ।

नेपालमै पहिलोपटक सुरुङमार्ग सञ्चालन हुन लागेकोले कार्यविधि निर्माणमा ढिलाइ भएको मन्त्रालय स्रोतले बताएको छ। यद्यपि, यसबाट प्राप्त अनुभवले आगामी सुरुङ परियोजनामा सजिलो हुने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय