प्रकाश थिङ, ललितपुर – बागमती गाउँपालिकाको आयोजनामा तामाङ समुदायको मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नका लागि ताम्बा (म्रावाइसिंगे) प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम जेठ १ गतेदेखि सुरु भएको छ। तीन दिनसम्म चल्ने यस कार्यक्रममा गाउँपालिकाभित्र रहेका सात वटै वडाका ताम्बाहरूको सहभागिता रहेको छ।

कार्यक्रमको उद्घाटन सत्र वडा नं. ४ का अध्यक्ष रामकुमार लामाको सभापतित्वमा सम्पन्न भयो। उनले तामाङ भाषा र संस्कृतिको पहिचान जोगाउन यस्ता कार्यक्रमहरुले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

गाउँपालिकाका अध्यक्ष वीर बहादुर लोप्चन प्रमुख अतिथिको रूपमा कार्यक्रममा सहभागी हुँदै, ताम्बाहरूबीचको घमण्ड र एकरूपताको अभावका कारण समुदाय पछाडि परेको भन्दै तिनको एकता र संस्कृतिको संरक्षणका लागि गाउँपालिकाले यस्तो कार्यक्रम आयोजना गरेको स्पष्ट पारे। उनले ताम्बा संस्कार र ज्ञानको आदान–प्रदानबाट समुदायमा नयाँ ऊर्जा थपिने र संस्कृति संरक्षणमा सहयोग पुग्ने आशा व्यक्त गरे।

कार्यक्रमको दोस्रो दिन सातै वडाबाट आएका तीन–तीन जना ताम्बाहरूको सहभागितामा बन्द सत्र सञ्चालन हुनेछ। उक्त सत्रमा तामाङ समुदायको मौलिक बाजा ‘डम्फु’ वितरण गरिनुका साथै संस्कृति संरक्षण, भाषाको प्रवर्द्धन र ताम्बा परम्पराको निरन्तरताबारे गहन छलफल गरिनेछ।

विशेष अतिथि तामाङ संघका पूर्व केन्द्रीय अध्यक्ष तथा तामाङ घेदुङका सल्लाहकार कवेल बहादुर लामाले तामाङ मात्र नभई खस आर्य समुदायको मौलिक संस्कृति समेत हराउँदै गएकोप्रति चिन्ता व्यक्त गरे। उनले सम्पूर्ण जातजातिको मौलिक संस्कृति जोगाउन सबै नेपालीको साझा जिम्मेवारी भएकोमा जोड दिए।

कार्यक्रममा विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापा, साथै विभिन्न वडाध्यक्षहरू—ज्ञ्यानबहादुर लो, नारायण भोम्जन, होमप्रसाद बजगाईं—तथा तामाङ भाषा र संस्कृति सम्बन्धी जानकारी राख्ने विशिष्ट व्यक्तिहरुको उपस्थिति उल्लेखनीय रह्यो।

यस तीनदिने कार्यक्रममा ताम्बासँग सम्बन्धित ज्ञान, सीप, संस्कार र परम्पराबारे व्यापक चर्चा, परिचर्चा तथा दस्तावेजीकरण गरिने छ, जसले तामाङ समुदायको जीवित परम्परा संरक्षणमा महत्वपूर्ण टेवा पुर्‍याउने विश्वास लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय