
ललितपुर, जेठ — राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय शिक्षा विभागद्वारा आज ललितपुरको च्यासलस्थित नेकपा (एमाले) पार्टी कार्यालयमा आयोजित “युवा उद्यमी सम्मान कार्यक्रम” मा सयौं युवाहरूको उपस्थितिमा सफल युवा उद्यमी बसन्त लामा सम्मानित भएका छन्।
सम्मान कार्यक्रमका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष क. केपी शर्मा ओलीज्यू तथा पार्टीका महासचिव क. शंकर पोखरेलज्यूको हातबाट बसन्त लामालाई सम्मान प्रदान गरिएको हो।

लामाले सञ्चालन गर्दै आएका “द बर्गर हाउस एन्ड क्रन्ची फ्राइ चिकेन” तथा “मेलुङ थकाली किचेन” जस्ता नेपाली स्वाद र सेवा केन्द्रित उद्यमहरू मार्फत युवा रोजगारी सिर्जना, आत्मनिर्भरता प्रवर्द्धन तथा स्वदेशमै सम्भावनाको खोजीमा योगदान पुर्याउँदै आएका छन्।
सम्मान ग्रहण गर्दै लामाले भने, “आजको सम्मानले हाम्रो प्रयासलाई थप ऊर्जा दिएको छ। नेपाली स्वाद, सेवा र संस्कृतिमा आधारित उद्यममार्फत हामी स्वदेशमै सम्भावनाको खोजी गरिरहेका छौं। हामीले युवाहरूलाई रोजगारी दिने मात्र होइन, आत्मनिर्भर बन्ने प्रेरणा पनि दिइरहेका छौं।”
कार्यक्रममा युवा उद्यमशीलता प्रवर्द्धनका विविध पक्षमा छलफल गरिएको थियो भने अन्य सफल युवाहरुलाई पनि सम्मान गरिएको थियो।