काठमाडौं, जेठ १७ — राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको मागसहित आन्दोलनरत राजावादी समूहले शुक्रबार पनि काठमाडौंमा प्रदर्शन गर्दै छन्। संयुक्त जनआन्दोलन समिति अन्तर्गतको आयोजनामा आज माइतीघर-मण्डला हुँदै बबरमहलसम्म प्रदर्शन हुने जनाइएको छ।
यसअघि बिहीबार रत्नपार्कमा विरोधसभा आयोजना गरेका आन्दोलनकारीहरूले शान्तिबाटिकामा पनि प्रदर्शन गरेका थिए। राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी धारका विभिन्न संगठनहरू प्रदर्शनमा सहभागी छन्।
प्रदर्शनका क्रममा सहभागीहरूले संघीयता खारेज, धर्म निरपेक्षता हटाई नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गर्ने र संवैधानिक राजसंस्थाको पुनर्स्थापना गर्ने माग गरेका छन्। उनीहरूले अहिलेको राजनीतिक व्यवस्थाले देशमा अस्थिरता, भ्रष्टाचार र असन्तोष निम्त्याएको दाबी गर्दै वैकल्पिक शक्तिको रूपमा राजसंस्थाको पुनर्स्थापना अपरिहार्य रहेको तर्क गरेका छन्।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले बिहीबार आयोजित कार्यक्रममा बोल्दै, “जबसम्म राजतन्त्र फर्किंदैन, तबसम्म यो आन्दोलन जारी रहनेछ,” भन्ने अडान दोहोर्याए। उनले आन्दोलनलाई देशव्यापी रूपमा विस्तार गर्ने चेतावनी पनि दिए।
संयुक्त जनआन्दोलन समितिका संयोजकहरूले भने यो आन्दोलन कुनै व्यक्तिविशेष वा दलको पक्षमा नभई ‘राष्ट्रियता, संस्कार र पहिचान’को रक्षाका लागि भएको बताएका छन्।
काठमाडौं उपत्यकामा हुने यस्ता आन्दोलनले सर्वसाधारणको जनजीवनमा असर पार्ने देखिएको छ। ट्राफिक प्रहरी महाशाखाले शुक्रबारका लागि वैकल्पिक मार्ग अपनाउन आग्रह गरेको छ।












