धनकुटा, जेठ – धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका–३ र ४ को सिमानामा पर्ने कट्टेल डाँडा माउलो–खैरेनी–भुल्के सडकको स्तरोन्नति तथा ग्राभेल गर्ने कार्य सम्पन्न भएको छ।
नगरको चालू आर्थिक वर्ष २०८१/०८२ अन्तर्गतको साझेदारी योजनामा पर्ने उक्त सडक स्तरोन्नति कार्य सडक बोर्ड धनकुटा र पाख्रीबास नगरपालिकाको संयुक्त बजेटबाट भ्याटसहित ३७ लाख रुपैयाँमा निर्माण कार्यको जिम्मापाएको लायन्स कन्ट्रकसन कम्पनी धनकुटाका सञ्चालक बलदिप राईले जानकारी दिनुभयो ।

सडक स्तरोन्नतिको क्रममा ६३० मिटर ग्राभेल, २२६ मिटर सोलिङ, २२६ मिटर ड्रेन निर्माण, ६ हजार मिटर सुख्खा कटिङ, तथा ६० घन मिटर तार जाली जडान गरिएको छ।
निर्माण कार्य समयमा सम्पन्न भएकोमा स्थानीय बासिन्दाहरूले कम्पनीका सञ्चालक बल्दिप राईलाई फूलमालासहित सम्मान गरेका छन्। स्थानीयवासी लोकबहादुर राईका अनुसार, २०६५ सालमा उपभोक्ता समितिमार्फत ट्र्याक खोलिएको यो सडक विगत १७ वर्षदेखि वर्षा र हिउँदमा सञ्चालनमा कठिनाइ हुने समस्याबाट गुज्रिँदै आएको थियो। सडक निर्माणपछि समस्या समाधान भएको उनले बताए।
पाख्रीबास नगरपालिकाका उपमेयर नम्रता गौतमले मापदण्डअनुसार निर्माण कार्यलाई प्राथमिकता दिई निरन्तर अनुगमन गरिरहेको जानकारी दिइन्। निर्माण मापदण्ड विपरीतका संरचनालाई भत्काएर पुनः निर्माण गर्न लगाइएको समेत उनले बताइन्।
यसैगरी, वडा नं. ३ का वडा अध्यक्ष तथा नगरपालिकाका आर्थिक विकास संयोजक सरोज राईले भूगोलका आधारमा क्रमिक रूपमा सडक मर्मत, सम्भार र स्तरोन्नति कार्य अगाडि बढाइरहेको बताए।
उक्त सडक स्तरोन्नति कार्यको अनुगमन उपमेयरको नेतृत्वमा वडा अध्यक्ष, वडा सदस्य, निर्माण कम्पनीका प्रतिनिधि, नगर प्राविधिक र सडक बोर्ड धनकुटाका इन्जिनियरहरूको टोलीले संयुक्त रूपमा गरेको थियो।












