काठमाडौं १७ जेठ ।नेकपा (माओवादी केन्द्र) जिरी–काठमाडौं सम्पर्क समन्वय समितिको तेस्रो ऐतिहासिक भेला काठमाडौंमा भव्य रुपमा सम्पन्न भएको छ। भेलाले गणेश रिजालको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ।

भेलामा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा दोलखा जिल्लाका चर्चित नेता शंकर लामाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा सम्पर्क समन्वय समितिका विभिन्न नेताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि शंकर लामाले सम्पर्क समन्वय समितिहरूले पार्टी सुदृढीकरण र जनसम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेलिरहेको बताए। उनले जिरी क्षेत्रका जनसमस्याहरु समाधान गर्न काठमाडौंमा बस्ने तथा काम गर्ने सम्पूर्ण जिरीबासीलाई संगठित भएर पार्टी र समाजको हितमा सक्रिय भूमिका खेल्न आग्रह गरे।

कार्यक्रममा नवगठित समितिका अध्यक्ष गणेश रिजालले समितिलाई अझ प्रभावकारी, गतिशील र जनमुखी बनाउँदै पार्टीको सिद्धान्त र लक्ष्यप्रति प्रतिबद्ध रही कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

भेलाले संगठनात्मक सुदृढीकरण, सम्पर्क विस्तार, र आगामी कार्यक्रमहरुको तयारीका विषयमा समेत विस्तृत छलफल गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर