ललितपुर । नेकपा (माओवादी केन्द्र) को ललितपुर जिल्ला भेलाले जिल्ला समन्वय समिति पुनर्गठन गरेको छ । शनिबार ललितपुरको बाडेगाउँमा सम्पन्न दोस्रो जिल्ला भेलाले संयोजक शिवप्रसाद कट्टेल र सचिव लोक बहादुर पुलामी (दिपक) लाई दोहोर्याउदै जिल्ला समन्वय समिति पुनर्गठन गरेको हो ।
जिल्ला सचिव दिपक पुलामीले जनाए अनुसार जिल्ला समन्वय समिति ११७ सदस्यीय बनेको छ । सङ्घीयताको मुख्य पक्षधर पार्टी भएकाले माओवादी केन्द्रले जिल्लालाई कार्यकारी नबनाइ पालिकालाई कार्यकारी बनाएको र जिल्लामा समन्वय समिति मात्र रहेको ललितपुर जिल्ला इन्चार्ज हरि दाहालले बताए । संयोजक र सचिवबाहेक सबै सदस्य रहने र नगर तथा पालिकाका पदाधिकारी पनि सो समितिका सदस्य हुने प्रावधान अनुरूप ११७ सदस्यीय समिति बनेको उनले प्रष्ट पारेका छन् ।
ललितपुरका तीनवटा गाउँपालिका, ललितपुर महानगर र महालक्ष्मी नगरपालिकामा नयाँ नेतृत्व आएसँगै जिल्ला समन्वय समिति पुनर्गठन गरिएको हो । तर गोदावरी नगरपालिकमा विविध कारणले पुनर्गठन हुन सकेको छैन । माओवादी केन्द्रको ललितपुर महानगरमा रविन्द्र महर्जनको नेतृत्वमा एकवर्ष अगाडि नै नयाँ कार्यसमिति निर्वाचित भएको छ भने महालक्ष्मी नगरपालिका राजेन्द्र अमात्य नेतृत्वको समिति छ । त्यसैगरी महांकालमा माधव दुलाल, कोन्ज्योसोममा महेश ग्घावा लामा, र बागमती गाउँपालिकामा महेन्द्र घिमिरेको नेतृत्वमा गाउँपालिका समिति निर्वाचित भएको छ ।
समन्वय समिति संयोजक शिव प्रसाद कट्टेललाई भने प्रदेश समितिले समेत स्वीकार गरी मनोनीत गर्नुपर्ने ब्यवस्था रहेको इन्चार्ज दाहालले जानकारी गराएका छन् ।
जिल्ला भेलामा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं बागमती प्रदेश इन्चार्ज हितमान शाक्यको प्रमुख आतिथ्यता रहेको थियो । भेलालाई सम्बोधन गर्दै इन्चार्ज शाक्यले माओवादी केन्द्रले आफ्ना कामहरूको ब्रान्डिङ गर्न नसक्दा जनमत बढ्न नसकेको बताए । “अन्य दलले कृतिमता बेचिरहेछन, हामीले ऐतिहासिक उपलब्धि समेत ब्रान्डिङ गर्न सकेनौ ।” उनले भने ।
त्यस्तै इन्चार्ज शाक्यले माओवादी बिभाजित हुँदा कमजोर बनेको बताउँदै माओवादीबीच एकता हुनसके फेरि जनता उत्साहित हुने र माओवादी केन्द्र पहिलो शक्ति बन्ने बिश्वास ब्यक्त गरे ।
माओवादी शक्ति कमजोर हुने हो भने देशमा अझै भ्रष्टाचार र कुशासन बढ्ने बताउँदै उनले देशमा सुशासन र समृद्धि माओवादी नेतृत्व बिना सम्भव नभएको जनताले अनुभूति गरिसकेका जिकिर गरे ।
सो अवसरमा केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज हरि दाहालसंगै केन्द्रीय सदस्य एवम् प्रदेश सांसद उर्मिला लामा, केन्द्रीय सदस्य सूर्य सुवेदी पथिक, केन्द्रीय सदस्य, पूर्व प्रदेश सांसद तथा संविधान सभा सदस्य राजकाजी महर्जन, केन्द्रीय सदस्यहरु पद्मा राई, गंगा पराजुली, दिपेन्द्र श्रेष्ठ, राजु आले मगर, बागमती गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर दर्लामी मगर, महांकाल गाउँपालिकाको उपाध्यक्ष डोल्मा माया गोलेको पनि आतिथ्यता रहेको थियो ।
भेलामा संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार, भावी रणनीति र पार्टीको मार्गदर्शनबारे गम्भीर छलफल गरिएको आयोजकले जनाएको छ ।












