धनकुटा, जेठ : धनकुटाको पाख्रीबास नगरपालिकामा आज (शुक्रबार) देखि २ दिने आदिवासी जनजातिहरूको हक अधिकार सम्बन्धी सचेतनामूलक कार्यक्रम सुरु भएको छ। पाख्रीबास नगरपालिकाको सहयोग तथा आदिवासी जनजाति पत्रकार महासंघ धनकुटा शाखाको आयोजनामा सञ्चालन भइरहेको यो कार्यक्रममा नगरका १० वटै वडाका महिला तथा पुरुषको सहभागिता रहेको छ।
कार्यक्रमको उद्घाटन गर्दै पाख्रीबास नगरपालिकाका मेयर ज्ञानबहादुर गुरुङले आदिवासी जनजाति, दलित र लक्षित वर्गहरूलाई लक्षित गरी नगरले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो। उहाँले लक्षित वर्ग तथा आर्थिक रूपमा कमजोर रहेका पाख्रीबासका नागरिकको जीवनस्तर सुधारका लागि नगरले विभिन्न अनुदानमा आधारित प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो। आगामी दिनमा नगरले सचेतनामूलक तथा क्षमता विकासका कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
कार्यक्रमका विशेष अतिथि वडा नं ३ का वडा अध्यक्ष सरोज राईले संविधानमा व्यवस्था गरेको आदिवासी जनजातिहरूको हक अधिकारका विषयमा जान्न र बुझ्न आवश्यक रहेको बताउनुभयो। उहाँले आदिवासी जनजातिहरूको पहिचान र अस्तित्वका लागि उनीहरूको भाषा संस्कृतिको संरक्षण गर्न जरुरी रहेकोमा जोड दिनुभयो। आगामी दिनमा आदिवासी जनजातिहरूको हक अधिकार संरक्षण हुने गरी नगरले कार्यक्रम ल्याउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
किरात राई यायोक्खा नगर सचिव चकेन्द्र राई, पत्रकार महासंघ धनकुटा अध्यक्ष विदुर खवास, निमित्त प्रमुख प्रशासकीय अधिकृत ओम आले लगायतले कार्यक्रममा बोल्दै आदिवासी जनजातिहरूको हक अधिकार र मुद्दाको विषयमा सचेतनामूलक कार्यक्रमले आदिवासी जनजातिको विकासका लागि आगामी दिनमा कस्ता नीति र कार्यक्रम सञ्चालन गर्न आवश्यक छ, तथा स्थानीय सरकारले आदिवासी जनजाति समुदायको विकासका लागि के कस्ता भूमिका निर्वाह गर्न आवश्यक छ भन्ने विषयमा नीति कार्यक्रम बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।
फोनिज धनकुटा शाखा अध्यक्ष मालती मोक्तानको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सहजीकरण विषय विज्ञ जेपी भुजेल र फोनिज प्रदेश निवर्तमान अध्यक्ष सन्तवीर लामाले गरिरहनुभएको छ। कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख कमला पाण्डे, प्रेस युनियन अध्यक्ष विनोद घिमिरे, प्रेस चौतारी अध्यक्ष नारायण आठपहरिया लगायत एकलजातीय संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो।

प्रतिक्रिया

सम्बन्धित खवर