धनकुटा, जेठ : धनकुटाको सहिदभूमि गाउँपालिकाले दलित समुदायको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले आरन सेट तथा हाते ग्यालेन्डर वितरण गरेको छ। दलित एकता समाजले गाउँपालिकासँगको सहकार्यमा करिब २ लाख रुपैयाँ बराबरको २० थान आरन र २० थान हाते ग्यालेन्डर खरिद गरी एक कार्यक्रमका बीच वितरण गरेको हो।
सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईको अध्यक्षतामा सम्पन्न आरन वितरण कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ प्रमुख अतिथि र उपप्रमुख सावित्रा विशेष अतिथि रहनुभएको थियो। कार्यक्रममा सहिदभूमि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यबहादुर भण्डारी, योजना शाखा प्रमुख भूपाल थापा लगायत जनप्रतिनिधिहरूको उपस्थिति थियो। वितरण गरिएका सामग्रीहरू पालिका अध्यक्ष, प्रमुख अतिथि, विशेष अतिथि लगायतका पदाधिकारीहरूले हस्तान्तरण गर्नुभएको थियो।
गाउँपालिकाले पालिकाभित्रका दलित समुदायलाई आर्थिक रूपमा समृद्ध बनाउने उद्देश्यले स्रोत साधनको व्यवस्थापन गर्दै आइरहेको जानकारी दिएको छ। दलित एकता समाजका अध्यक्ष सूर्य प्रकाश विश्वकर्माले पालिकाको समन्वयमा दलित समुदायको उत्थानका लागि शैक्षिक विकासमा छात्रवृत्ति, जीविकोपार्जनमा प्रत्यक्ष लाभ पुग्ने हिसाबले पञ्चेबाजा वितरण, आरन वितरण लगायत विभिन्न सचेतनामूलक गतिविधि सञ्चालन गरिरहेको बताउनुभयो।
वडा नं. २ का कृष्णबहादुर विश्वकर्माले आफूहरूको सीपलाई सदुपयोग गर्न पालिकाले स्रोत साधनको व्यवस्था गरिदिएकोमा धन्यवाद व्यक्त गर्नुभयो। उहाँले पैसाको अभावमा आवश्यक सामग्री खरिद गर्न नसक्दा आरन चलाउन नसकिरहेकाहरूलाई यस सहयोगले थप सुविधा पुगेको बताउनुभयो।












