धनकुटा,जेठ — सहिदभूमि गाउँपालिका वडा नं ६ अन्तर्गत पर्ने सुकेआहाल-मामफिङ- खोकु सडकको १ किलोमिटर खण्डमा कालोपत्रे (पिच) कार्य सम्पन्न भएको छ।

प्रदेश सरकारको समपुरक कार्यक्रमअन्तर्गत १ करोड रुपैयाँ र गाउँपालिकाको ४२ लाख रुपैयाँको साझेदारीमा सो सडक कालोपत्रे (पिच) गरिएको गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिनुभयो। अध्यक्ष राईका अनुसार पालिकाभित्रका सम्पूर्ण सडकलाई व्यवस्थित बनाउँदै प्रत्येक महिनामा सहज रुपमा जनताको घरसम्म यातायात सेवा पुगोस् भन्ने उद्देश्यका साथ निरन्तर काम भईरहेको छ।

“सडक स्तरोन्नतिको क्रम जारी छ। विस्तारै अन्य सडकहरु पनि ग्राभेल र कालोपत्रे गर्ने योजना रहेको छ,” अध्यक्ष राईले बताउनुभयो। सडक सुधारसँगै किसानहरूका लागि कृषि उत्पादन बजारसम्म पुर्‍याउन सहज भएको र आम्दानीमा समेत टेवा पुगेको स्थानीयवासीले बताएका छन्।

सडकको कालोपत्रे पिच गर्ने जिम्मा छिन्ताङ देवी कन्ट्रक्सन प्रा.लि.ले पाएको थियो। निर्माण कार्य सम्पन्न भएपछि गाउँपालिका अध्यक्ष मनोज राई, वडा अध्यक्ष हेमकुमार राई, प्रमुख प्रशासकीय अधिकृत सूर्य बहादुर भण्डारी, इन्जिनियर तथा निर्माण कम्पनीका प्रतिनिधिहरूको टोलीले अनुगमन गरेको थियो।

स्थानीय विकास र जनजीवन सहज बनाउन यस्ता पूर्वाधार विकासका कामलाई अझ तीव्रता दिने गाउँपालिकाको योजना रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय