विदेश समाचार – विशेष विवरण
बिहीबार, जेठ २९, २०८२ काठमाण्डौ। भारतको गुजरात राज्यस्थित अहमदावादमा एक गम्भीर विमान दुर्घटनाको समाचार आएको छ। एयर इन्डियाको एक अन्तर्राष्ट्रिय उडान भर्ने तयारीमा रहेको विमान सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलको नजिक दुर्घटनामा परेको पुष्टि भएको छ।

उक्त विमान लण्डनका लागि उड्न लागिरहेको थियो। प्रारम्भिक विवरण अनुसार, विमानमा करिब २४२ यात्रु सवार थिए। जबकि यस विमानको क्षमता करिब ३०० जना यात्रु रहेको बताइएको छ। पहिला आएको केही समाचारहरुमा भने यात्रुको संख्या २४२ जनासम्म रहेको उल्लेख गरिएको थियो।

तीन विस्फोटको आवाजपछि त्रासदी सुरु

दुर्घटनाका प्रत्यक्षदर्शीहरुका अनुसार, विमानले उडान भर्ने तयारी गरिरहेको बेला अकस्मात तीनवटा ठूलो विस्फोटको आवाज सुनिएको थियो। विस्फोटपछि विमानले सन्तुलन गुमाएको जस्तो देखिएको र त्यसपछि धुँवा र आगोको लप्का निस्किएको बताइएको छ।

दुर्घटना स्थल वरिपरि घना धुँवा फैलिएको देखिएको छ। अहमदाबाद विमानस्थल टर्मिनल–१ का एक जना म्यानेजरलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ, “विमानस्थल वरिपरि पुरै धुँवाले ढाकिएको छ। दमकल र उद्धारकर्मीहरु लगातार दुर्घटनास्थलमा पुगिरहेका छन्।”

अग्नि नियन्त्रण प्रयासमा दमकल परिचालन

गुजरात समाचार अनलाइनका अनुसार, दुर्घटनाको तुरुन्तै प्रतिक्रिया स्वरूप अहमदाबाद अग्नि तथा आपत्कालीन सेवा कार्यालयले पाँचवटा दमकल घटनास्थलमा खटाएको थियो। यद्यपि हालसम्म प्राप्त विवरणमा पूर्ण आगो नियन्त्रणमा आएको पुष्टि गरिएको छैन।

उद्धार कार्य जारी, घाइतेहरुको विवरण आउँदै

घटनास्थलमा स्थानीय प्रहरी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र उद्धार टोलीहरु सक्रिय रुपमा कार्यरत छन्। प्रारम्भिक आशंकामा धेरै यात्रु घाइते भएको हुन सक्ने अनुमान गरिएको छ। तर, अहिलेसम्म कुनै यात्रुको मृत्यु पुष्टि भएको छैन।

अहिलेसम्म के थाहा छ ?

एयर इन्डियाको विमान अहमदावादबाट लण्डन उड्न लाग्दा दुर्घटना भयो।

विमानमा करिब २४२ यात्रु सवार थिए।

दुर्घटनाको समयमा तीनवटा ठूलो विस्फोटको आवाज आएको प्रत्यक्षदर्शीको भनाइ।

विमानस्थल नजिकै घना धुँवा देखिएको र आगलागी भएको अनुमान।

पाँचवटा दमकल परिचालन।

उद्धार कार्य जारी, घाइतेहरुको विवरण संकलन हुँदै।

विस्तृत विवरण प्रतीक्षामा

दुर्घटनाको कारण अहिलेसम्म पुष्टि भएको छैन। न त यन्त्रगत खराबी, न मानव त्रुटि वा अन्य कुनै आपराधिक गतिविधिको आशंका औपचारिक रूपमा पुष्टि भएको छ। एयर इन्डिया र भारतीय नागरिक उड्डयन प्राधिकरणले छानबिन सुरु गरिसकेको जनाइएको छ।

यो दुर्घटनाले फेरि एक पटक विमान सुरक्षाका विषयमा गम्भीर प्रश्न उठाएको छ। विशेषगरी अन्तर्राष्ट्रिय उडान गर्ने ठूला जहाजहरुको प्राविधिक अवस्था र तयारीप्रति चासो बढेको छ।

सम्बन्धित निकायबाट प्रतिक्रिया

एयर इन्डियाले छोटो प्रेस विज्ञप्ति जारी गर्दै यात्रुहरुको सुरक्षालाई प्राथमिकता दिइएको र घटनाको पूर्ण विवरण आउनासाथ सार्वजनिक गरिने जनाएको छ। साथै, घाइतेहरुलाई नजिकको अस्पतालमा उपचार गराइरहेको जानकारी दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय