
धनकुटा — सहिदभूमि गाउँपालिकाले चालू आर्थिक वर्ष २०८१/०८२ मा कृषि क्षेत्रमा विभिन्न अनुदान र कार्यक्रममार्फत किसानलाई सहयोग गरेको छ। पालिकाले कृषि उत्पादन वृद्धि तथा कृषकहरूको आयआर्जन सुधार गर्न अनुदानसहितका विविध कार्यक्रम सञ्चालन गरेको हो।
पालिकाले ५०% लागत साझेदारी कार्यक्रमअन्तर्गत १३ वटा कृषि समूह तथा सहकारीमार्फत किसानलाई २ लाख ७५ हजार बराबरका १३ थान मिनिटिलर वितरण गरेको छ। यस्तै, विषादी स्पेयर ९४ पिस ५०% अनुदानमा २७ वटा कृषि समूह तथा सहकारीमार्फत कृषकलाई वितरण गरिएको कृषि शाखा प्रमुख दिनेन्द्र राईले जानकारी दिनुभयो।

माहुरी पालन व्यवसाय प्रवर्द्धन गर्न १६ वटा कृषि समूह तथा सहकारीका कृषकलाई ५० थान आधुनिक माहुरी घार १ लाख ५० हजार लागतमा वितरण गरिएको छ। तरकारी खेती प्रोत्साहनका लागि गोलभेडाको बीउ ६ हजार ६६ प्याकेट, खुर्सानीको बीउ १ हजार १० प्याकेट गरी १० लाख बराबरको बीउ २६ वटा समूह तथा सहकारीलाई वितरण गरिएको छ।
त्यस्तै, गोलभेडा बालि संरक्षणका लागि १ हजार ३० केजी किटनासक ढुसी र रोग नियन्त्रणका लागि ४० हजार बराबरको विषादी २४ वटा समूहलाई वितरण गरिएको छ। फौजी किराको नियन्त्रणका लागि निःशुल्क रूपमा ८३ सय ३३ प्याकेट किङस्टार विषादी वितरण गरिएको छ, जसको लागत ३ लाख ५० हजार रहेको छ।
त्यसैगरी, उन्नत जातको केराखेती विस्तार गर्न ५०% अनुदानमा टिस्यु कल्चरबाट उत्पादन गरिएका २३ सय ५० वटा केराका बिरुवा १ लाख ५० हजार बराबरको लागतमा २० वटा समूह तथा सहकारीलाई वितरण गरिएको छ।
माटोको उर्वराशक्ति वृद्धिका लागि पालिकाले माटो सुधार कार्यक्रम अन्तर्गत पालिका स्तरीय माटो शिविर समेत सञ्चालन गरेको छ।
कृषि शाखा प्रमुख दिनेन्द्र राईका अनुसार पालिकाले आगामी दिनमा समेत कृषकको जीवनस्तर उकास्ने खालका कार्यक्रम निरन्तर सञ्चालन गर्ने लक्ष्य लिएको छ।