
धनकुटा, पाख्रीबास — पाख्रीबास नगरपालिका–९ स्थित मातिम्बुका किसानलाई लक्षित गरी जैविक तथा वनस्पतिजन्य विषादी प्रयोग सम्बन्धी तालिम तथा ड्रम वितरण कार्यक्रम सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र धनकुटाको आयोजनामा सम्पन्न तालिममा मातिम्बुका २५ जना किसान सहभागी भएका थिए।
कार्यक्रमको सहजीकरण कृषि ज्ञान केन्द्र धनकुटाका सहायक बाली संरक्षक रत्न ठाडा मगरले गर्नुभएको थियो। उहाँले अव्यवस्थित रासायनिक मलको प्रयोगले कृषिमा पार्ने नकारात्मक प्रभाव, अत्यधिक विषादी प्रयोगका कारण उत्पन्न स्वास्थ्य तथा वातावरणीय समस्याबारे जानकारी गराउँदै जैविक मल तथा विषादी प्रयोग प्रविधि, जैविक झोल मल १, २ र ३ निर्माण विधि लगायतका विषयमा व्यवहारिक तालिम प्रदान गर्नुभयो।
तालिमपछि सहभागी किसानलाई २५ थान १०० लिटर क्षमताका ड्रम, २ थान स्प्रेयर, र १–१ बट्टा निमजस्तो जैविक विषादी प्रदान गरिएको थियो। ड्रम वितरण कार्यक्रमको अध्यक्षता कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नागेन्द्र बहादुर राना तथा प्रमुख अतिथि वडा अध्यक्ष सम्झना आले रहनुभएको थियो।
कार्यक्रममा वडा सदस्य मदन कुमार आले, कृषि ज्ञान केन्द्रका सूचना अधिकारी भुवन सिंह बुढाथोकी लगायतको उपस्थिति रहेको थियो। प्रमुख रानाले तालिम चौथो चौमासिक कार्यक्रम अन्तर्गत आयोजना गरिएको जानकारी दिनुभयो।
यसअघि कृषि ज्ञान केन्द्र धनकुटाले तेस्रो चौमासिकमा लिसुम्बुका किसानलाई अलैंची बगान व्यवस्थापनका लागि पाइप, रोग–कीरा नियन्त्रण विषादी तथा अन्य कृषि सामग्री वितरण गरिसकेको जनाएको छ।