३ असार, काठमाडौं- इजरायलद्वारा जुन १३ मा इरानमाथि गरिएको हवाई आक्रमणपछि फारसको खाडी र ओमानको खाडीको बीचमा रहेको होर्मुज स्ट्रेट बन्द हुन सक्ने आशंकाले विश्वभर ऊर्जा आपूर्तिमा गम्भीर असर पर्ने चिन्ता बढेको छ।

विश्लेषकहरूका अनुसार, यदि यो साँघुरो जलमार्ग अवरुद्ध भयो भने विश्वको २० प्रतिशतभन्दा बढी कच्चा तेल ढुवानीमा अवरोध आउन सक्छ।

यो मार्गले मध्यपूर्वबाट एशिया, युरोप र उत्तर अमेरिकातर्फ तेल र ग्यास लैजाने प्रमुख व्यापारिक नाका हो।

साउदी अरेबिया, युएई, कुवेत, इरान र एलएनजी (LNG) निर्यातमा अग्रणी कतारजस्ता देशहरू यसको भरमा छन्।

मूल्य वृद्धिको प्रारम्भिक संकेत

तनावको असर अन्तर्राष्ट्रिय बजारमा तुरुन्तै देखिएको छ।

सोमबार एशियाली बजार खुल्नेबित्तिकै ब्रेन्ट क्रुड तेलको मूल्य २.८ प्रतिशतले बढेर ७६.३७ डलर प्रति ब्यारेल पुगेको छ।

त्यस्तै, अमेरिकी कच्चा तेल (WTI) पनि बढेर ७५.०१ डलर प्रति ब्यारेल पुगेको छ।

विश्लेषकहरू भन्छन्, बजारले भविष्यको जोखिमलाई पहिल्यै मूल्यमा समेट्न थालेको छ।

ऐतिहासिक तनावको केन्द्र

होर्मुज स्ट्रेट विगतमा पनि धेरैपटक भू-राजनीतिक द्वन्द्वको केन्द्र रहँदै आएको छ।

१९८०–८८ को इरान–इराक युद्धमा यो मार्गमा भएको हमला ‘ट्यांकर युद्ध’ भनेर चिनिन्छ, जसमा व्यापारिक तेल ट्यांकरहरू आक्रमणको शिकार बनेका थिए।

सन् १९८८ मा अमेरिकी युद्धपोतबाट इरानी यात्रुबाहक विमान खसालिँदा २९० जनाको मृत्यु भयो। अमेरिकाले यसलाई सैन्य भूल भने पनि इरानले ‘पूर्वनियोजित हमला’ करार दिएको थियो।

त्यसयता होर्मुज स्ट्रेटमा अमेरिकी नौसैनिक तैनाथी र इरानी चनाखो प्रतिक्रिया निरन्तर चलिरहेको छ।

के इरान स्ट्रेट बन्द गर्छ त?

इरानको तेल मन्त्रालयले हालको इजरायली आक्रमणले तेल भण्डारण वा रिफाइनरीहरूमा असर नगरेको स्पष्ट पारेको छ।

तर, विश्व ऊर्जा विशेषज्ञहरूले चेतावनी दिएका छन्— यदि तनाव बढ्दै गयो भने आधारभूत तेल पूर्वाधार लक्षित आक्रमण हुन सक्ने सम्भावना उच्च छ।

जेपी मोर्गन लगायतका वित्तीय संस्थाहरूले यस्तो अवस्था आएमा कच्चा तेलको मूल्य १२०–१३० डलर प्रति ब्यारेल पुग्न सक्ने अनुमान गरेका छन्।

बीबीसी टर्कीसँग कुरा गर्दै प्रोफेसर डा. अक्ट लेंगर भन्छन्, “होर्मुज स्ट्रेट बन्द हुने मात्र आशंकाले नै बजारमा असर पारेको छ। यो बन्द भयो भने मूल्य चुलिनु निश्चित छ।”

इरानको अघिल्लो चेतावनी

इरानले विगतमा पनि पटक–पटक चेतावनी दिँदै आएको छ— उसमाथि लगाइने आर्थिक प्रतिबन्ध वा तेल निर्यातमा अवरोध आए होर्मुज स्ट्रेट बन्द गर्ने विकल्प खुला राख्नेछ।

२०१८ मा अमेरिकी नीतिले इरानी तेल निर्यात रोक्न खोज्दा तत्कालीन राष्ट्रपति हसन रूहानीले कडा चेतावनी दिएका थिए।

त्यसपछि इरानी रिभोल्युशनरी गार्ड्सका कमाण्डरले पनि “हाम्रा तेल ट्यांकर रोकिने हो भने अरूको पनि हिँड्न पाउने छैन” भन्ने प्रकारका प्रतिक्रिया दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय