ललितपुर, ५ असार : श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले सीपयुक्त जनशक्ति नभएसम्म मुलकको विकास हुन सक्दैन भन्नुभएको छ।

राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानले आज विहिबार ललितपुरमा आयोजना गरेको ‘सरकारी तथा गैरसरकारी निकाय/ संस्थाहरुसंगको अन्तरक्रिया गोष्ठीमा मन्तव्य राख्नुहुँदै मन्त्री भण्डारीले आन्तरिक रोजगारीलाई ध्यानमा दिएर मन्त्रालयले आन्तरिक रोजगार दशक लागू गर्न खोजिरहेको छ भन्नुभएको हो।
“अब मन्त्रालयले आन्तरिक रोजगारीको सृजना गरेर अगाडि बढ्नुपर्छ भनेर ध्यान दिएको छ, बाध्यात्मक बैदेशिक रोजगारीलाई अन्त्य गर्न लागि परेका छौँ, यसलाई निरुत्साहित गरिनुपर्छ, अवको काम भनेको सूचना प्रविधिको क्षेत्र नै हो।” उहाँले भन्नुभयो ।
मन्त्री भण्डारीले सरकारले दिएको रोजगारी मात्रै रोजगारी हो भन्ने भ्रमबाट मुक्त हुनुपर्छ भन्दै निजी क्षेत्रले सृजना गर्ने रोजगारी पनि महत्त्वपूर्ण छ भन्नुभयो ।
“निजी क्षेत्रसंग सहकार्य गरेर मात्रै मुलकको आर्थिक समृद्धि हासिल हुन्छ, हामीले दृष्टिकोण र सोचमा पनि परिवर्तन गर्नुपर्छ, नकारात्मक सोच मात्रै  राखेर हुँदैन, यी सबै परिवर्तन हामीले नै गरेका हौँ नि ! यी समस्या पनि हामीले नै गर्दा आएका हुन् नि! यसलाई सुधार गर्नुपर्छ। वैदेशिक रोजगारीमा गएर आएकाहरुको सीप कसरी उपयोग गर्न सकिन्छ भनेर सबै पक्ष मिलेर लाग्नुपर्छ।” उहाँले भन्नुभयो।
मन्त्री भण्डारीले श्रम मन्त्रालयको जिम्मेवारी नै वैदेशिक रोजगारको हो कि भन्ने भान थियो भन्दै यसबाट मुक्त हुन आन्तरिक रोजगारलाई बढाउन मन्त्रालयमा नै आन्तरिक रोजगार महाशाखा स्थापना गरेर काम गरिरहेका छौँ भन्नुभयो । उहाँले श्रम क्षेत्रमा आउने चुनौतीहरुको सामना गर्न, वैदेशिक रोजगारीमा रहेकालाई नेपालमा फर्काएर रोजगारीको वातावरण सृजना गर्न सबै पक्षले जिम्मेवारी र जवाफदेही भूमिका निर्वाह गर्दै हीनताबोधको भावनालाई अन्त्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले सम्पदा क्षेत्रमा झिँगटीको छाना छाउने र पुरातात्त्विक महत्त्वका सम्पदा निर्माण जनशक्ति एकदमै कम छ भन्दै यस्ता कुरामा ध्यान दिएर महानगरले आवश्यकतामा आधारित तालिमलाई जोड दिएको बताउनुभयो । उहाँले १२ वटा तालिम पाएर समेत मानिस बेरोजगार रहेको उदाहरण प्रस्तुत गर्दै उहाँले तालिम केवल तालिमका लागि मात्रै सीमित हुनु नहुनेमा जोड दिनुभयो ।

मन्त्रालयका सचिव डक्टर कृष्णहरि पुस्करले श्रम र रोजगार क्षेत्रको अर्थतन्त्रको चक्रलाई सही दिशामा ल्याउन मन्त्रालयको नेतृत्व गरिरहेका मन्त्री र मन्त्रालय सफल भएको बताउनुभयो । उहाँले राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानले धेरै प्रकारका तालिमहरु सुरु गरेको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको माग अनुसार निजी क्षेत्रसंग सहकार्य गरेर तालिम सञ्चालनसंगै नीतिगत रुपमा समेत सुझावहरु दिने काम गरिरहेको बताउनुभयो। प्रतिष्ठानले वास्तविकतामा आधारित गरेर दक्ष कामदारहरु तयार गर्न सुरुवात गरेको जानकारी गराउनुभयो।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक मलहोत्राले दक्ष जनशक्तिले मुलुकको विकासलाई महत्त्वपूर्ण योगदान पुर्‍याउने भन्दै नेपालमा नै रोजगारको अवसरको सृजना हुने वातावरण बनेको बताउनुभयो ।
घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले श्रम मन्त्रालयले प्रभावकारी काम गर्दै आएको बताउनुभयो । उहाँले श्रम मन्त्रालयको रफ्तारले गतिशीलता पाउने विश्वास व्यक्त गर्दै दक्ष जनशक्ति निर्माणमा सहकार्य गर्न तत्पर रहेको बताउनुभयो।

पाँच वर्षे रणनीतिक योजनाका बारेमा प्रस्तुतिकरण गर्नुहुँदै प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिमका विज्ञ डाक्टर रामहरि लामिछानेले सीप विकास तथा व्यवसायिक तालिमका क्षेत्रमा ६६ वर्ष लामो इतिहास भएको राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय माग अनुसारको दक्ष जनशक्ति तयार गर्न सक्ने क्षमता रहेको बताउनुभयो । प्रतिष्ठानसंग वैदेशिक रोजगारमा गएर फर्केकाहरुलाई पनि तालिम दिन सक्ने धारणा राख्नुभयो। सरकारी तहबाट दिइने तालिममाथि प्रश्न उठ्ने काम हुनुहुँदै भन्दै उहाँले रोजगारदाताले आवश्यकता महसुस गरेअनुसारको ओैपचारिक तालिम व्यवस्थापन गरिनुपर्नेमा जोड दिनुभयो।
कार्यकारी निर्देशक रमेशकुमार बखतीले रोजगारदातालाई आवश्यक दक्ष जनशक्ति निर्माणकालागि पाठ्यक्रम निर्माण गरेर सोही अनुसार तालिम दिएर आन्तरिक रोजगारलाई प्रवर्द्धन गर्ने अभिप्रायका साथ प्रशिक्षित गराउने अवस्था निर्माणका लागि यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।—

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय