ललितपुर ।महालक्ष्मी नगरपालिका ललितपुरले आर्थिक वर्ष २०८२/०८३ को लागि १ अर्ब ८१ करोड ८८ लाख २० हजार ६ सय २९ रुपैयाँ ४२ पैसाको बजेट प्रस्तुत गरेको छ ।
नगरपालिकाको आज सोमबार इमाडोलमा आयोजित नगरसभाको १८ ओैं अधिवेशनमा उपप्रमुख लक्ष्मी महर्जनले नेपालको संविधानले संघीय शासन व्यवस्थामा परिलक्षित गरेको आर्थिक विकास, सामाजिक विकास र सुशासनलाई ध्यानमा राखेर बजेट प्रस्तुत गरेको बताउनुभएको हो।
प्रस्तुत बजेटमा स्राेतकाे ब्यवस्थापनतर्फ नेपाल सरकारबाट वित्तीय हस्तान्तरण हुने १७ करोड ८८ लाख वित्तीय समानिकरण अनुदान, ३० करोड ७ लाख सशर्त/पूँजीगत अनुदान, ५० लाख समपुरक/पूँजीगत अनुदान, ६९ लाख बिशेष/पूँजीगत अनुदान प्राप्त हुने प्रक्षेपण गरिएको छ।
त्यस्तै बागमती प्रदेशबाट १ करोड ८० लाख बित्तीय समानिकरण, २ करोड ६७ लाख ८७ हजार सशर्त, १ करोड २० लाख समपुरक र ६५ लाख बिशेष अनुदान प्राप्त हुने प्रक्षेपण गरिएको छ।
बार्षिक बजेटमा नगरपालिकाले आन्तरिक आय तर्फ १९ करोड र राजश्व बाँडफाँडबाट ३९ करोड ४० लाख ९१ हजार ६ सय २९ रुपैयाँ ४२ पैसा प्राप्त हुने र नगरपालिकाको मौज्दातबाट ६८ करोड बजेट व्यवस्थापन गर्नेगरी बजेट प्रस्तुत गरिएको छ।
बजेट प्रस्तुत गर्दै उपप्रमुख महर्जनले आ.ब. २०८२/०८३ को वजेटमा संस्थागत क्षमता विकास मार्फत सुशासन प्रवर्द्धन, पूर्वाधार विकास मार्फत दिगो विकास र गुणस्तरिय विकासलाई फराकिलो पार्ने, गुणस्तरिय सामाजिक विकास, सामाजिक न्याय र सुरक्षाको प्रत्याभूति गर्ने, दिगो विकासका लक्ष्यहरुलाई स्थानीयकरण गर्दै सुचकमा आधारित लक्ष्य हासिल गर्ने, आन्तरिक स्रोतको अधिकतम परिचालन, सदुपयोग र व्यवस्थापन गर्ने, सहभागितामुलक विकास मार्फत अपनत्व, स्वामित्व र सहभागिता अभिवृद्धि गरि गुणस्तरियता कायम गर्ने, कर प्रणालीलाई बैज्ञानिक बनाउदै करको दर वृद्धि मात्र नभई दायरा विस्तार गर्ने, बजेट प्रणालीमा सुधार गरि नतिजामुखी खर्च प्रणालिमा अभिवृद्धि गर्दै सार्वजनिक खर्चको प्रभावकारितामा बढोत्तरी गर्ने लगायतका कुरालाई प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय लक्ष्यलाई सार्थक बनाउन भौतिक पूर्वाधारहरुको विकास, खानेपानी, सांस्कृतिक सम्पदा, पर्यटन, सामाजिक विकास, स्वास्थ्य, फोहोरमैला व्यवस्थापन, विपद् व्यवस्थापन, वातावरण, सुशासन सहितको विद्युतीय प्रणालीको अधिक प्रयोग मार्फत कार्यालय सञ्चालन र सेवा प्रवाहको व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।
त्यस्तै बजेट प्रस्तुत गर्नुअघि नगरप्रमुख हरिगोविन्द श्रेष्ठले आर्थिक वर्ष २०८२/८३ को लागि महालक्ष्मी नगरपालिकाको नीति तथा कार्यक्रम पेश गर्नुभएको थियोे।
नगरसभाको उद्घाटन समारोहमा मन्तव्य राख्नुहुँदै प्रतिनिधिसभा सदस्य प्रेमबहादुर महर्जनले महालक्ष्मी नगरपालिकालाई समृद्ध र सफल बनाउने काम सबै जनप्रतिनिधि र कर्मचारीको काँधमा रहेको बताउनुभयो । उहाँले स्थानीय सरकार आएपछि जनताको विकास निर्माणलाई व्यवस्थित बनाउने काम भएको छ भन्दै स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाई लगायतका थुप्रै कामहरु गर्न अझै बाँकी रहेको धारणा राख्नुभयो। उहाँले पूर्वाधारको विकास नै हाम्रो विकासको मुल लक्ष्य हो भन्नुभयो।
“काभ्रे र भक्तपुर जोड्ने सडक फराकिलो बनाउनका लागि जोड दिएर लाग्नुपर्छ, फराकिलो बाटो बनाउन सकियो भने राष्ट्रिय राजमार्गसंग हाम्रो सम्बन्ध सहज हुन्छ,स्रोतहरुको परिचालनमा दत्तचित्त भएर लागिपर्ने छु, ग्वार्कोको फ्लाईओभर उद्घाटन भएपछि यहाँको ट्राफिक जामको समस्या हटेको छ।” उहाँले भन्नुभयो ।
महर्जनले सांस्कृतिक विकास, कृषि र पर्यटन क्षको विकास गर्नेमा हामी क्रियाशील छौँ भन्दै यहाँको बस्ती विकासलाई धेरैको चासो छ, हामीले प्रयास जारी राख्नुपर्छ भन्नुभयो ।
“बजेटमा संघीय सांसदलाई २१ करोड विनियोजन भएको छ,त्यसमा हामीले राष्ट्रियस्तरका जम्मा सात वटा योजना पठाउनुपर्ने हुन्छ, सोही अनुसार गोदावरी खोला र कर्मनाशा खोलाको करिडोरको विकासका लागि छुट्याइएको छ।” उहाँले भन्नुभयो ।
नगरसभामा नगरसभामा नगरगानका रचनाकार, हरियाली प्रवर्द्धनमा सहयोग गर्ने विभिन्न संघसंस्था तथा व्यक्तित्वहरुलगायतलाई सम्मान गरिएको थियोे। —












