शैलुङ, दोलखा – शैलुङ गाउँपालिकामा रहेका विभिन्न माध्यमिक विद्यालयहरूबाट २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) मा सहभागी भएका विद्यार्थीहरूको नतिजा सार्वजनिक गरिएको छ। सार्वजनिक नतिजा अनुसार गाउँपालिकाभित्रका ९ वटा माध्यमिक विद्यालयहरूबाट कूल २१२ जना विद्यार्थी परीक्षा सहभागी भएका थिए, जसमध्ये १२५ जना विद्यार्थीले सफलता हासिल गरेका छन्। समग्र उत्तीर्णता प्रतिशत ५८.९५ प्रतिशत रहेको छ।
यस वर्षको परीक्षामा मागापोवा माध्यमिक विद्यालय (शैलुङ–४) ले सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्दै १००% उत्तीर्णता हासिल गरेको छ। उक्त विद्यालयबाट ८ जना विद्यार्थी सहभागी भएका थिए र सबैले परीक्षा उत्तीर्ण गरेका छन्।

वीरन्द्र माध्यमिक विद्यालय (शैलुङ–५) ले ९३.७५% को सफलताका साथ दोस्रो स्थान हासिल गरेको छ भने कालिभुमे माध्यमिक विद्यालय (शैलुङ–३) ले ७१.४३% उत्तीर्णतासहित तेस्रो स्थानमा रहेको छ।
त्यसैगरी, नविन माध्यमिक विद्यालय (शैलुङ–२) मा भने सबैभन्दा कम १४.२९% मात्र विद्यार्थीले सफलता प्राप्त गरेका छन्।
शैलुङ गाउँपालिकाको शिक्षा शाखाले समग्र नतिजालाई “सुधारोन्मुख” भन्दै विद्यालयहरूसँग सहकार्य गरेर आगामी दिनमा शिक्षाको गुणस्तर अभिवृद्धिका लागि थप योजनाहरू अघि बढाइने जनाएको छ।













