राष्ट्रिय वृक्षरोपण दिवस २०८२ मा सहिदभूमि गाउँपालिकाको पातल डाँडामा ५ सय बिरुवा रोपियो

धनकुटा ।राष्ट्रिय वृक्षरोपण दिवस २०८२ को अवसरमा धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिकास्थित पातल डाँडामा ‘अबको अभियान, हरियाली बढाऔँ – हिमालय जोगाऔँ’ भन्ने नारासहित वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।

डिभिजन वन कार्यालय धनकुटाको आयोजनामा सम्पन्न उक्त वृक्षरोपण कार्यक्रमको प्रमुख अतिथि सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राई थिए। कार्यक्रममा बोल्दै अध्यक्ष राईले वातावरण स्वच्छ, हरित तथा सन्तुलित बनाउन वन जंगलको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै वृक्षरोपणले हरियाली अभियानलाई गति दिने बताए। उनले बिरुवा रोपेर मात्र नभई तिनको संरक्षण र हुर्काउनेतर्फ पनि आम नागरिकको सहभागिता आवश्यक रहेको सुझाव दिए।

कार्यक्रममा डिभिजन वन कार्यालय धनकुटाका प्रमुख डिएफओ सञ्जिव राज ढकालले नेपालले पेरिस सम्झौताअनुसार सन् २०४५ सम्ममा कार्वन उत्सर्जन शून्यमा ल्याउने लक्ष्य राखेको भन्दै सो लक्ष्य प्राप्तिका लागि वृक्षरोपण अभियान आवश्यक भएको बताए।

त्यस्तै, प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलले वनजंगलको संरक्षण राज्य मात्रले सम्भव नभएको भन्दै सबै तह, तप्का र समुदायको सक्रिय सहभागिता जरुरी रहेको धारणा राखे।

पातल पञ्च पोखरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष खड्गबहादुर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कल्की, धुपी, सल्ला, पिपल बोट, जाकारन्डा, शिरीष लगायत विभिन्न प्रजातिका ५०० बिरुवा रोपिएको थियो।

कार्यक्रममा एसपी सरद थापा, भीमदल गणका प्रमुख सेनानी गणेश थापा, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अधिकृत रमेश्वर बस्नेत, प्रमुख प्रशासकीय अधिकृत सूर्यबहादुर भण्डारी, फोकाफोन अध्यक्ष निलबहादुर थापा, वडा अध्यक्षहरु होमबहादुर राई, हेमकुमार राई, खगेन्द्र राईसहित स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय