धनकुटा — पाख्रीबास नगरपालिका–९ मा सञ्चालित उत्तरपानी धर्मशाला होमस्टे सञ्चालन समितिलाई घरबास (होमस्टे) पर्यटन प्रवर्द्धनका लागि आवश्यक विविध सामग्री वितरण गरिएको छ।
वडा नं ९ को अगुवाइमा र प्रदेश सरकारको सहकार्यमा होमस्टे पूर्वाधार निर्माण तथा प्रचारप्रसारका लागि सांस्कृतिक पार्क निर्माण, तामाङ र मगर समुदायसँग सम्बन्धित मौलिक बाजागाजा, भाँडा–कुडा, कुर्सी–टेबल, साउण्ड सिस्टम, होर्डिङ बोर्ड लगायत सामग्रीहरू खरिद गरी वितरण गरिएको वडा अध्यक्ष सम्झना आलेले जानकारी दिनुभयो।

अध्यक्ष आलेका अनुसार, “घरबास पर्यटनले स्थानीय महिलाहरूको आर्थिक सशक्तिकरण र आत्मसम्मान वृद्धिमा सहयोग पुर्याउने भएकाले यसको प्रवर्द्धन आवश्यक छ।”
उहाँले थप जानकारी दिँदै भन्नुभयो, “पाख्रीबास–९ मा तामाङ र मगर समुदायको बाक्लो बसोबास छ। यहाँको भाषा, संस्कार र संस्कृति उत्पादन र व्यवसायसँग जोडेर स्थानीय अर्थतन्त्र बलियो बनाउन होमस्टे कार्यक्रम प्रभावकारी हुनेछ।”
सदाबहार चिसो मौसम, रमणीय प्राकृतिक वातावरण, पहाडी खेती प्रणाली, गाउँघरको जीवनशैली, मौलिक खाना, र तामाङ–मगर समुदायको कला–संस्कृति यहाँको प्रमुख पर्यटन आकर्षण हुन्।
वर्तमानमा पाख्रीबास–९ मा १७ वटा घरमा होमस्टे सेवा सञ्चालनमा रहेको छ। उत्तरपानी धर्मशाला होमस्टे समितिकी अध्यक्ष रेविका तामाङका अनुसार, “एउटा घरमा चार कोठासम्म पाहुनालाई बस्न सकिन्छ। हाम्रो होमस्टेमा एकै दिनमा झण्डै १५० जना पाहुनाको व्यवस्था गर्न सकिने क्षमता छ।”
गत वर्षदेखि सुरु गरिएको होमस्टे सेवा अहिले थप व्यवस्थित र व्यावसायिक बनाउने कार्य भइरहेको समितिले जनाएको छ।
सामग्री हस्तान्तरण कार्यक्रममा स्थानीय समाजसेवी तथा बुद्धिजीवीहरू जयबहादुर मोक्तान, श्याम योञ्जन, सुभचन्द्र मोक्तान, भालबहादुर घिसिङ, वडा सचिव अनिल तिम्सिना, पत्रकार कबिराज घिमिरे, मानवी मोक्तान, तथा होमस्टे सञ्चालन समितिका पदाधिकारी सदस्यहरूको उपस्थिति थियो।












