माधवप्रसाद घिमिरे,ललितपुर: नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवम राष्ट्रियसभाका कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्छ भन्ने वी.पी. कोइरालाको धारणा थियोे भन्नुभएको छ।
जननायक वी.पी. कोइरालाको ४३ ओैं स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस जिल्ला कार्यसमिति ललितपुरद्वारा पार्टी कार्यालय नखिपोटमा आयोजना गरेको स्मृतिमा वी.पी. बिचार गोष्ठीमा मन्तव्य राख्नुहुँदै नेता सिटौलाले कुनै पनि वैदेशिक राष्ट्रको हस्तक्षेप सहनुहुन्न भन्ने उहाँको धारणा रहेको बताउनुभएको हो।
“गरिव जनता अधिकार, लोकतान्त्रिक व्यवस्थाको पक्षमा नेपालका सबै राजनीतिक दल सहमत छन्, नेपालको अन्तर्राष्ट्रिय जगतमा उचाई थप्ने,राष्ट्र र राष्ट्रियताको सन्दर्भमा उहाँको उदारवादी मान्यता थियो, राष्ट्र र राष्ट्रियता भनेको जनता हो, जनताको अधिकार विना राष्ट्र र राष्ट्रियता रहँदैन भन्ने उहाँको सोच थियो, लोकतान्त्रिक शासन पद्धतिमा कसैसँग सम्झौता गर्नुभएन, नेपालको लोकतान्त्रिक आन्दोलनलाई खुला परेर छोडिदिनुभयो।” उहाँले भन्नुभयो।

उहाँले जननायक वी.पी. कोइरालालाई गतिशील नेताका रुपमा बुझ्नुपर्ने भन्दै फाँसीको मुद्दा अदालत रहँदारहँदै पनि आफ्नो घाँटी राजासँग जोडिएको भन्दै राजासंग सहकार्य गरेको बताउनुभयो। उहाँले राष्ट्र र लोकतान्त्रिक व्यवस्थाका लागि वी.पी. राजासँग मिलेको भन्दै ज्ञानेन्द्रले लोकतान्त्रिक व्यवस्था मासेका कारण राजतन्त्र र राजसंस्था विदा भएको बताउनुभयो। उहाँले नेपाल बचाउने जनताले हो भन्दै विकास जनताको जीवनसंग जोडिएकोले आर्थिक विकासले गरिव जनताको जीवनमा परिवर्तन ल्याउने र देशको प्रगति हुने धारणा राख्नुभयो।

नेपाली कांग्रेस केन्द्रीय सदस्य, पूर्वअर्थराज्यमन्त्री एवम् प्रतिनिधिसभा सदस्य उदयशम्शेर राणाले पञ्चायतकालमा कोइराला परिवारका सबै व्यक्तिहरु राजनीतिमा लागेर दु:ख, कष्ट भोगेर पनि नेपाली कांग्रेसलाई बलियो बनाउँदै बहुदलीय व्यवस्था ल्याउन भूमिका खेलेको भन्दै उहाँको लगनशीलता, त्याग र निष्ठालाई अनुशरण गर्दै व्यवहारिक रुपमा काम गर्दै विकास र समृद्धिमा लाग्नुपर्ने धारणा राख्नुभयो। उहाँले राजनीति पार्टीको आदर्श र सिद्धान्तलाई लागू गराउनका लागि सरकारमा जानु अनिवार्य भएको भन्दै अहिले निर्वाचन प्रणालीको कमजोरीका कारणले कुनै पनि,पार्टीले बहुमत ल्याउन सक्ने अवस्था नरहेकाले गठबन्धन अनिवार्य भएको बताउनुभयो।

नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम राष्ट्रियसभा सदस्य जीतजंग बस्नेतले वी.पी.ले गर्नुभएको योगदान, त्याग र तपस्यालाई बर्षमा दुईदिन सम्झनेभन्दा पनि हरदिन उहाँका सत्प्रेरणालाई अवलम्बन गर्दै उहाँले देखाएको बाटोमा हिड्न र देश र जनताका पक्षमा काम गर्न सक्नुपर्नेमा जोड दिनुभयो। नेपाली कांग्रेसले नै देश र नागरिकको हीतमा काम गर्न सक्नुपर्ने भन्दै नेतृत्वले जनतामा छाएको निराशा र भ्रमलाई चिर्न सक्नुपर्नेतर्फ ध्यानाकर्षण गराउनुभयो।

केन्द्रीय सदस्य एवम् राष्ट्रियसभाका पूर्वसदस्य धना खतिवडाले नेपाली कांग्रेसको नेतृत्व द्वन्द्वको अन्त्य गरी संविधान निर्माण गरेर देशलाई शान्तिपूर्ण राजनीतिमा डोहोर्‍याउन योगदान दिएको स्मरण गर्दै वी.पी.ले परिकल्पना गरेअनुसारको लोकतान्त्रिक पद्धति, राजनीतिक स्वतन्त्रता, आर्थिक विकास र शासन पद्धतिमा जोड दिनुपर्ने धारणा राख्नुभयो।

नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका उपसभापति एवम् संविधानसभा सदस्य चन्द्र महर्जनले राष्ट्रियता, प्रजातन्त्र,,समाजवादको सिद्धान्तलाई खिल्ली उडाउनेहरुलाई सचेत गराउने गरि पार्टीका हरेक तहमा रहेका व्यक्ति तथा व्यक्तित्वहरुलाई प्रशिक्षिति गर्दै सही र गलतलाई छुट्टाउने गरि भ्रम चिर्दै अनुशासन कायम गर्दै गराउँदै हरेक तहका नेतृत्व अगाडि बढ्नुपर्नेमा ध्यानाकर्षण गराउनुभयो।

जिल्ला उपसभापति सुदर्शन घिमिरेले नेपाली कांग्रेसले हुनेखानेहरुका लागि भन्दा पनि हुँदा खानेहरुको लागि ध्यान दिएर नयाँपन दिन सक्नेगरि काम गर्न सक्नुपर्नेमा जोड दिंदै पार्टीका हरेक तहका नेता तथा कार्यकर्ताहरु सुधार अभियानमा लाग्नुपर्ने आवश्यकता रहेको धारणा राख्नुभयो।
ललितपुर क्षेत्र नं. २ का सभापति महेश खड्काले अदितीय प्रतिभाका धनी दक्षिण एसियाले नै मानेको राजनेता वी.पी. कोइरालाले देखाएको दूरदर्शितालाई अंगीकार गर्दै बिचार नमिल्नेसंगको सहकार्य गर्नुभन्दा पनि पार्टीभित्रको एकतालाई जोड दिएर बलियो पार्टीमा स्थापित गर्दै राष्ट्रिय हीतमा केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो। —

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय