काठमाडौं, साउन –स्वदेशदेखि विदेशसम्मको पीडा र संघर्ष बोकेको एक महिलाको जीवनकथा अब गीतको रूपमा सार्वजनिक हुन लागेको छ। निमा ओमु ह्योल्मोको वास्तविक जीवनमा आधारित गीत ‘दैबले लग्यो’ आउँदो शुक्रबार सार्वजनिक हुँदैछ।
तामाङ सांगीतिक क्षेत्रका लोकप्रिय र पृथक शैलीका सर्जक धनराज लामाको ३६ औं शब्द रचनामा आधारित यस गीतमा भावनात्मक फापरे भाका समेटिएको छ। गीतमा संगीत र संगीत संयोजन चर्चित संगीतकार जोगलाल लामाले गरेका छन्।

गीतमा स्वर चर्चित गायिका सुमिना लो र युवा गायक आशिष मोक्तनको रहेको छ। गीतको ध्वनि मिश्रण कर्साङ लामाले गरेका हुन् भने रेकर्डिङ काठमाडौं जोरपाटी बौद्धस्थित सरगम डिजिटल रेकर्ड स्टुडियोमा गरिएको हो।
गीतलाई आशिष मोक्तन अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिनेछ।
यस गीतका प्रस्तुतकर्ता निमा ओमु ह्योल्मो हुन्, जसको जीवनमा आधारित भएर गीतको सिर्जना गरिएको हो। यस मार्मिक गीतमा एक महिलाले स्वदेशदेखि वैदेशिक यात्रासम्म झेलेका संघर्ष, पीडा, अनि समाजले देखाउन नसकेको चोटलाई गहिरो रूपमा व्यक्त गरिएको छ।
गीतमार्फत ‘जसरी मैले दुःख पाएँ, त्यो पीडा कसैले पनि नपाओस्’ भन्ने सन्देश दिन खोजिएको छ।












