ललितपुर, असार : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जलवायु परिवर्तनको मुख्य कारक कार्वन उत्सर्जनको जोखिम न्युनिकरणमा नेपालले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ।

नेपाली काँग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको वातावरण तथा जलवायु परिवर्तन सरोकार सम्बन्धी प्रशिक्षण कार्यक्रममा धारणा राख्नुहुँदै महामन्त्री शर्माले अहिलेका धेरै मुद्दाहरुमध्ये अहिले संसारको साझा र ज्वालन्त मुद्दा जलवायु परिवर्तन भएको भन्दै यसमा सोच, संकल्पलाई ध्यान दिंदै व्यवहारिक कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो।

“प्रकृतिको ओजनभन्दा मानव निर्मित संरचना बढ्दै जाँदा जलवायु परिवर्तनको असर बडेको छ, कहिले अत्याधिक वर्ष, कहिले खडेरी, बेमौसमी वर्षाको समस्या छ, गतबर्षको वेमौसमी बर्षाले अर्बौंको क्षति पुर्‍यायो, यही साता हिमताल फुटेर रसुवामा धेरै क्षति पुर्‍यायो, कार्वन उत्सर्जन अत्याधिक धेरै हुँदा जलवायु परिवर्तनको असर बढ्दै गएको छ, तसर्थ जलवायु परिवर्तनको असर घटाउन प्लास्टिकको प्रयोग घटाउनेदेखि हटाउनेसम्म, मानवीय क्रियाकलापमा सुधार ल्याउनेसम्म ध्यान दिनुपर्नेछ।” उहाँले भन्नुभयो।

उहाँले जलवायु परिवर्तनको असरसंग जुध्ने क्षमता हुनुपर्छ भन्दै संसारभरको ओैद्योगिक गतिविधिबाट ६५ प्रतिशत, जंगलको फँडानीबाट १० प्रतिशत, मानवीय क्रियाकलापले ६ प्रतिशत र मानवले प्रयोग गर्ने फ्रिज, एसी लगायत मेसिनरी सामानलगायत बाँकी अन्य कारणले कार्वन उत्सर्जन गरिरहेको भन्दै यसलाई ध्यान दिएर कार्वन उत्सर्जन गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।

“नेपाल र चीनका ४६ र भारतको एक सहित ४७ वटा हिमताल विस्पोटको जोखिममा छन्, कार्वन उत्सर्जनको अवस्था घटेन र मानिसको आनीबानी परिवर्तन भएन भने जतिसुकै वेला पनि विस्फोट हुन सक्छ, तापक्रम बढ्दा हिउँ पग्लिएर हिमताल बढ्दैछ।” उहाँले भन्नुभयो ।

उहाँले नेपालले जलवायु परिवर्तनमा नगरेको असरको सजायँ भोग्नुपरेको छ भन्दै यसमा जोडदार आवाज उठाउनुपर्छ भन्नुभयो ।
“अमेरिका, अस्ट्रेलिया, क्यानाडा, चीनलगायतका विकसित देशले गरेको कार्वन उत्सर्जनले हामी समस्यामा छौँ, हाम्रो हिमालले असर भोगिरहेको छ, यसमा लागि नेपालले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आवाज उठाउनुपर्छ, हाम्रो समस्या उठाउन भारत र चीनले मान्नुपर्छ भन्ने छैन ।” उहाँले भन्नुभयो ।

उहाँले संसारको कार्वन उत्सर्जन घटाउन समुद्रले ३० प्रतिशत, नदिले ३ प्रतिशत सहयोग पुर्‍याउने भन्दै मानिसले पनि आफ्ना गतिविधिहरुलाई नियन्त्रण गरेर जैविक, जीवाश्मबाछ उत्पन्न हुने कार्वन घटाउन सचेत हुनुपर्नेमा जोड दिनुभयो।—

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय