ललितपुर, साउन ।विश्व स्तनपान सप्ताह २०८२ को अवसरमा जनस्वास्थ्य कार्यालय ललितपुरले “स्तनपानलाई प्राथमिकता दिऔं, सहयोगी वातावरण निर्माण गरौं” भन्ने नाराका साथ विविध कार्यक्रम गरेको छ। साउन १६ गतेदेखि २२ गतेसम्म (अगस्ट १–७) मनाइने स्तनपान सप्ताहमा जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. भुवन पौडेलले स्तनपान कक्षको औपचारिक उद्घाटन गर्नुभएको छ।

कार्यक्रममा बोल्दै डा. पौडेलले शिशुको शारीरिक तथा मानसिक विकासका लागि स्तनपानलाई सर्वोत्कृष्ट आहारको रूपमा वर्णन गर्नुभयो। उहाँले भन्नुभयो, “२ वर्षको उमेरसम्म शिशुको ८० प्रतिशत दिमागको विकास भइसक्छ। त्यसैले नवजात शिशुलाई जन्मेको १ घण्टाभित्र स्तनपान गराइनु अनिवार्य छ। ६ महिनासम्म मात्र स्तनपान र त्यसपछि २ वर्षसम्म थप पोषणसहित स्तनपान गराउनुपर्छ।”

ललितपुर जिल्लाको आर्थिक वर्ष २०८१/८२ को DHIS रिपोर्ट अनुसार, जन्मेको १ घण्टाभित्र स्तनपान गराइने शिशुको दर ८६.१ प्रतिशत रहेको छ भने ६ महिनासम्म मात्र स्तनपान गराइने दर ४८.०८ प्रतिशतमा सीमित रहेको छ।

जनस्वास्थ्य नर्सिङ निरीक्षक सृजना लिंथेपका अनुसार यी तथ्याङ्कहरूबाट आमाहरूलाई स्तनपान सम्बन्धी व्यवहार गर्न अझै पनि पर्याप्त समर्थन आवश्यक रहेको स्पष्ट हुन्छ। “शिशुमा स्तनपान व्यवहार प्रभावकारी रूपमा लागू गर्न श्रीमान्, परिवार, समुदाय, स्वास्थ्य संस्था, सरकार र सिङ्गो समाजको सहकार्य अपरिहार्य छ,” उहाँले बताउनुभयो।

स्तनपान कक्षको स्थापना तथा स्तनपान सप्ताहको आयोजना सँगै जनस्वास्थ्य कार्यालय ललितपुरले आमाहरूको सशक्तिकरण र शिशु स्वास्थ्यप्रति थप सजगता बढाउने उद्देश्य राखेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय