ललितपुर-२०८२ भदौ २३ र २४ गतेको GenZ आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा आइतबार साँझ ललितपुरको भनीमण्डलमा अपाङ्गता भएका व्यक्तिहरूद्वारा दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरियो। कार्यक्रममा सहभागीहरूले मैनबत्ती प्रज्वलन गरी मौन धारण गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरे।
उक्त अवसरमा अपाङ्गता भएका व्यक्तिहरूले शोकसन्तप्त परिवारजनप्रति सहानुभूति प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका थिए। साथै, देशभरका अपाङ्गता भएका व्यक्तिहरूलाई यस कठिन समयमा एकजुट भई समाजमा प्रतिबद्धता देखाउन तथा देशलाई नयाँ दिशा दिन सक्ने नेतृत्वको आवश्यकता औंल्याउँदै हालै प्रधानमन्त्रीमा चयन भएकी सुशीला कार्कीलाई बधाईसमेत व्यक्त गरिएको थियो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म देशव्यापी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ। विभिन्न अस्पतालमा ३३१ जना उपचाररत रहेका छन् भने ९४९ जना उपचारपछि घर फर्किएका छन्।

Report by – Vishu Gurung












