ललितपुर, २ असोज: जेन जेड आन्दोलनमा ज्यान गुमाएका शहीदहरू अर्थात् दिवङ्गत आत्माको चिर शान्तिको कामना र देशमा शान्ति र मेलमिलापको कामना गर्दै अन्तर धार्मिक प्रार्थना सभा सम्पन्न भएको छ । राष्ट्रिय अन्तर धार्मिक सञ्जाल (निरन) नेपालले बुधबार ललितपुरमा सबै धर्मका धर्मगुरुहरूलाई सहभागी गराएर शान्ति र मेलमिलापको कामना गर्दै अन्तर धार्मिक प्रार्थना सभा सम्पन्न गरेको सञ्जालका अध्यक्ष भिक्षु पिया दस्सी महर्जनले जानकारी दिनुभयो।
“सभामा हिन्दु, बौद्ध, कृष्ण प्रणामी, इस्लामिक, ख्रिस्टियन, किराँत, बाही, जैन र ओशोधारा धर्मका धर्मगुरुहरुले आत्माको चीर शान्तिको कामना गर्नुभएको छ, अन्तरधार्मिक सञ्जालद्वारा उच्चसम्मानका साथ श्रद्धाञ्जली व्यक्त गर्दै शान्तिको कामना गरिएको हो।” उहाँले भन्नुभयो।
यही भदौ २३ र २४ गते जेन–जी पुस्ताका युवाहरूले भ्रष्टाचारले युक्त राज्यसत्ता परिवर्तनका लागि गरेको प्रदर्शन पछिको वर्तमान परिस्थितिमा शान्ति कायम होस भन्ने कामना प्राथनासभा मार्फत गरिएको हिन्दु धर्मगुरु पण्डित रामचन्द्र भण्डारीले बताउनुभयो ।
“समाजप्रतिको चिन्तन, अन्तरधार्मिक लगन भन्ने नाराका साथ क्रियाशील राष्ट्रिय अन्तरधार्मिक सञ्जाल (निरन) सदाचार, मेलमिलाप र शान्तिको पाठ सिकाउन क्रियाशील रहेको छ, हाम्रो समाजमा मिडियाले शान्तिका लागि सत्यतथ्य सूचना प्रवाहमा भूमिका खेल्नुपर्छ, जेन जेड आन्दोलनमा सहादत प्राप्त गर्ने सबैको सम्मान गर्दै देश र समाजको रुपान्तरणमा ध्यान दिनुपर्छ।”उहाँले भन्नुभयो।
७५ जना भन्दा बढी व्यक्तिको मृत्यु अर्बौँको सम्पत्ति नष्ट भएको यस्ता घटना अब नदोरिउन र देश साँच्चै बुद्धको जन्मस्थल भए अनुसार शान्त मुलुक होस भन्ने कामना आफ्नो समुदायमा गर्ने बौद्ध भिक्षु धर्ममुर्तीले बताउनुभयो ।
जेन जेड आन्दोलनमा घाइते हुनुभएका सम्पूर्णको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आफूहरूले सामुहिक रुपमा प्रार्थना गरेको इस्लाम धर्मका मौलाना एमडी सलमानले बताउनुभयो । अन्तरिम सरकारले निरन नेपालसँग सहकार्य गरेर शान्ति र मेलमिलापको लागि काम गरोस् भन्ने कामना क्रिष्चियन धर्मका अगुवा इसुजंग कार्कीले प्राथनामार्फत बताउनुभयो । जेनजी पुस्ता, सुरक्षा निकाय, कर्मचारी तन्त्र, नागरिक समाज, सङ्घसंस्थाहरू, सञ्चार माध्यम र धार्मिक गुरुहरूबिच सहकार्य गरी देशमा शान्ति र मेलमिलापको लागि हातेमालो गरी अभियान सञ्चालन गरिने सीआईएनका व्यवस्थापक दीपक आचार्यले बताउनुभयो । निरनका व्यवस्थापक नहिदा वानुले सहिदहरूको सपना पुरा गर्न र शान्ति स्थापना गर्न आफ्नो संस्थाले पनि निरन्तर पहल गर्ने बताउनुभयो । किरात धर्मका अगुवा तिलक चाम्लिङले शान्ति र मेलमिलापको लागि आफ्नो समुदायमा पनि अभियान गर्ने र सबै वर्गलाई शान्ति र धर्मको पालना गर्नको लागि उत्प्रेरित गर्ने बताउनुभयो।—












