माधवप्रसाद घिमिरे/ललितपुर, ९ असोज: ललितपुर प्रतिनिधिसभा क्षेत्र नं. १ मा नयाँ राजनीतिक बहसका साथ अभियान्ता सनोज महतले स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको छ। ‘नागरिक प्रथम अभियान’ का अभियान्ता सनोज महतले बिहीबार अनामनगरमा पत्रकार सम्मेलन गर्दै स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको हो। उहाँले वैकल्पिक राजनीतिक संरचना र नयाँ शासन प्रणालीबारे बहसलाई केन्द्रीत गर्दै उम्मेदवारी घोषणा गर्नुभएको हो।

उहाँले आफूलाई केवल उम्मेदवारको रूपमा मात्रै नभई संविधान परिमार्जन र प्रणालीगत सुधारको आवाजका रूपमा प्रस्तुत गर्नुभएको छ। “दलतन्त्र नै लोकतन्त्र हो भन्ने धारणा अब अस्वीकार्य छ,” उहाँले भन्नुभयो, “पुराना दलहरुले नेता-तन्त्र थोपरे, जनता उपेक्षित भए। अब जनताकै शक्ति वैकल्पिक बाटो खोज्न तयार छ।”

उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिबाट देश चलाउने व्यवस्थालाई प्रमुख मुद्दाका रुपमा उठाउनुभएको छ। अहिलेको प्रदेशसभाको स्वरूप र संरचना खर्चिलो र अप्रभावकारी भएको भन्दै उहाँले स्थानीय तहका प्रमुखलाई नै प्रदेशसभा सदस्यको भूमिका दिने विकल्प अघि सार्नुभएको छ।

उहाँले मुख्यमन्त्रीलाई पनि जनताबाट प्रत्यक्ष निर्वाचित गर्नुपर्ने प्रस्ताव गर्नुभयो। यसले जनप्रतिनिधि र कार्यकारी निकायबीचको दूरी घटाउने उहाँको तर्क छ।

महतले आफ्नो जीत भएमा पहिलो प्राथमिकता भ्रष्टाचारविरुद्ध कठोर कारबाहीलाई प्राथमिकताका साथ कार्यान्यनमा जोड दिने घोषणा गर्नुभएको छ। “देशलाई भ्रष्टाचारको आहाल बनाउने भ्रष्ट्राचारीलाई निर्मम कारबाही गर्न आवश्यक वातावरण तयार पार्नु मेरो पहिलो काम हुनेछ,” उहाँले भन्नुभयो।

पछिल्लो समयको जेन जेड आन्दोलनलाई महतले “पुरानो दलतन्त्रप्रतिको विस्फोट” भन्दै यसको मागलाई समर्थन जनाउनुभएको छ। “जेन जेडले उठाएको आवाजले पुरानो शक्ति संरचनालाई चुनौती दिएको छ। यो नै वैकल्पिक शक्तिको जग हो,” उहाँले भन्नुभयो।

उहाँले राजधानीसँग जोडिएर पनि उपेक्षित दक्षिण ललितपुरको समस्या विशेष रूपमा उठाउनुभयो। उहाँका अनुसार दक्षिण ललितपुरका तीन वटा गाउँपालिकालाई छुट्टै निर्वाचन क्षेत्र बनाउन पहल गर्ने घोषणा गर्नुभयो।

त्यस्तै, उहाँले ललितपुरका ढुंगाखानी र क्रसर उद्योग राजनीतिक संरक्षणमा होइन, उल्टै गैरकानुनी दोहनको चपेटामा परेको आरोप लगाउनुभयो। “अर्बौंको लगानी भएको उद्योगलाई प्रशासन र सत्ता-सम्बद्ध व्यक्तिहरूले लुटेका छन्,” उहाँले भन्नुभयो, “यो क्षेत्रमा करिडोर व्यवस्थित गर्न र पुरातात्त्विक क्षेत्रलाई जोगाउन जरुरी छ।”

महतले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत महत्वाकांक्षा नभई वैकल्पिक राजनीतिक शक्तिको सुरुवातको रूपमा व्याख्या गर्नुभयो। “स्वतन्त्र उम्मेदवारी अहिलेको आवश्यकता हो। तर यो मात्र होइन, हामीले बलियो वैकल्पिक शक्ति निर्माणमा लाग्नैपर्छ,” उहाँले भन्नुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय