एशिया कपको उत्साहबीच नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा ठूलो आश्चर्य प्रस्तुत गरेको छ। तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई १९ रनले हराउँदै ऐतिहासिक जित हात पारेको हो। २०८२ असोज ११ गते (सप्टेम्बर २७, २०२५) शारजाहमा सम्पन्न खेलमा कप्तान रोहित पौडेल उत्कृष्ट प्रदर्शन गर्दै ‘प्लेयर अफ द म्याच’ घोषित भए।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रनको योगफल बनायो। कप्तान पौडेलले तेस्रो नम्बरमा ब्याटिङ गर्दै ३८ रनको महत्वपूर्ण योगदान दिए। कुशल मल्लाले ३० रन, गुलशन झाँले २२ रन र दिपेन्द्रसिंह ऐरीले १७ रन जोड्दा नेपाल मध्यम स्कोर बनाउन सफल भयो।

वेस्टइन्डिजतर्फ जेसन होल्डर सर्वाधिक सफल बलर बने। उनले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए। साथै, नवीन बिदाईसीले ३ विकेट र अकील हुसेनले १ विकेट हात पारे।

१४९ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिज निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रनमै सीमित भयो। टोलीका लागि नवीन बिदाईसीले २२ रन, अमिर जंगू र फेबियन एलनले १९–१९ रन जोडे।

नेपालका बलरमध्ये कुशल भुर्तेल उत्कृष्ट रहे। उनले ४ ओभरमा १७ रन दिएर २ विकेट लिए। कप्तान पौडेलसहित दिपेन्द्रसिंह ऐरी, करण के.सी, नन्दन यादव र ललित राजबंशीले १–१ विकेट झारे।

यस सनसनीपूर्ण जितसँगै नेपालले सिरिजमा अग्रता लिएको छ र वेस्टइन्डिजजस्तो बलियो टोलीलाई चुनौती दिन सक्ने क्षमता देखाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय