ललितपुर, १२ असोज: नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम यस वर्ष नगर्ने भएको छ।
भाद्र २३ र २४ गतेको अकल्पनीय राजनीतिक घटनाक्रमसँगै ७२ जनाभन्दा बढीले ज्यान गुमाएको कारणले मुलुक शोकमा डुबेको अवस्थामा नेपाली कांग्रेसले यसवर्ष चाडपर्वको अवसरमा चियापान कार्यक्रम आयोजना नगर्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।
“चाडवाडको समयमा समग्र मुलुकका नागरिकहरू शोकमा डुवेको र हाम्रो पार्टीको केन्द्रीय कार्यालय समेतमा आगजनी गरि ध्यस्त पारिएको अवस्थाको “यो विषम परिस्थितिमा हामी देशभक्त नेपाली नागरिक बीच थप राष्ट्रिय एकता र मेलमिलापको आवश्यकता हुनुपर्छ” भन्ने तथ्यलाई हृदयङ्गम गर्दै आम नेपाली आमावुवा दिदीवहिनी तथा दाजुभाइहरू अकल्पनीय शोकमा रहेकोले कोजाग्रत पूर्णिमाका दिन नेपाली कांग्रेसले आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदान—प्रदान कार्यक्रम यस वर्ष (२०८२ साल) आयोजना नगर्ने कुरा यसै विज्ञप्ति मार्फत् सबैलाई जानकारी गराइन्छ ।” उहाँले भन्नुभयो।
भाद्र २३ र २४ गतेको अकल्पनीय राजनीतिक घटनाक्रमसँगै ७२ जनाभन्दा बढीले ज्यान गुमाएको, राष्ट्रपति भवन, प्रधानमन्त्री कार्यालय (सिंहदरवार), संसद भवन र सर्वोच्च अदालत लगायत राज्यका तीनै अंगका सबै तहका भौतिक एवं प्रशासनिक सरचनाहरू, प्रहरी कार्यालयहरू, लोकतान्त्रिक गणतन्त्रका लागि आफ्नो सम्पूर्ण जीवन समर्पण गरेका राजनेताहरूको ऐतिहासिक भवन र आश्रमहरू, व्यवसायिक प्रतिष्ठानहरू, पार्टी सभापति श्री शेरबहादुर देउवा, केन्द्रीय सदस्य डा. आरजु राणा देउवा लगायत केन्द्रीय सदस्यहरू एवं पार्टीका विभिन्न तहका नेता साथीहरूमाथि सांघातिक आक्रमण, लोकतन्त्रका पक्षधर विभिन्न राजनैतिक दलका नेता र केन्द्रीयदेखि स्थानीय तहसम्मका दलका कार्यालयहरू र विभिन्न राजनीतिक एवं गैर–राजनीतिक व्यक्तिहरूको नीजि सम्पतिमा समेत सुनियोजित तवरबाट आक्रमण, लुटपाट र आगजनी गरि खर्बौको सम्पत्तिको क्षति हुन पुगेको र नेपालको इतिहासमा यो अत्यन्त अकल्पनीय र दुःखद घटनाको रुपमा रहेको मुख्यसचिव पौडेलले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
वि.सं. २०३३ सालमा जननायक बी.पी. कोइराला निर्वासनबाट ‘राष्ट्रिय एकता तथा मेलमिलापको नीति’ लिई स्वदेश फर्केपछि हरेक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह आयोजना गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा रहँदै आएको थियोे।—












