डेम सारा मुलालीलाई नयाँ क्यान्टरबरीका आर्चबिसप पदका लागि नामांकन गरिएको छ – यस पदमा चयन गरिएकी पहिलो महिला उनी हुन्।
६३ वर्षीया मुलाली पूर्व NHS प्रमुख नर्स हुन्। उनले २००६ मा पादरीको जिम्मेवारी सम्हालेकी थिइन् भने २०१८ मा लन्डनको पहिलो महिला बिशप बनेकी थिइन्, जुन इंग्ल्याण्ड चर्चमा तेस्रो उच्च पद हो।
४५० वर्षभन्दा लामो इतिहासमा पहिलोपटक चर्चलाई महिला नेतृत्व गर्ने गरी नामांकन भएको हो।
शुक्रबार आफ्नो पहिलो सार्वजनिक वक्तव्यमा उनले म्यानचेस्टरको सिनागोगमा भएको घातक आक्रमणप्रति दुःख व्यक्त गर्दै भनिन्, “घृणा र जातिवादले हामीलाई टुक्र्याउन दिइँदैन।”
अहिलेसम्म चर्चमा शीर्ष पद खाली थियो, किनभने आर्चबिसप जस्टिन वेल्बीले बालबालिकामाथिको दुव्र्यवहारको प्रकरणलाई ढाकछोप गरेको भन्दै आएको प्रतिवेदनपछि राजीनामा दिएका थिए। त्यसयता आर्चबिसप अफ यर्क स्टिफन कोटरेलले अस्थायी रूपमा वेल्बीका जिम्मेवारी सम्हालिरहेका थिए। तर उनीमाथि पनि दुर्व्यवहार प्रकरण सम्हाल्ने तरिकाबारे आलोचना भएको छ।
इंग्ल्याण्ड चर्चमा महिलालाई पहिलोपटक १९९४ मा पादरीको रूपमा नियुक्त गरिएको थियो भने २०१४ बाट मात्रै महिला बिशप बन्न थालेका थिए।
परम्पराअनुसार, आर्चबिसप छान्ने प्रक्रियामा प्रधानमन्त्री (हाल सर कियर स्टार्मर) लाई नाम सिफारिस गरिन्छ र त्यसपछि राजा (राजा चार्ल्स तेस्रो) बाट अनुमोदन हुन्छ।
प्रधानमन्त्री स्टार्मरले उनको नियुक्तिलाई स्वागत गर्दै शुभकामना दिएका छन्। बकिङघम प्यालेसले राजा चार्ल्सले पनि यसलाई “यूके र विश्वव्यापी एङ्ग्लिकन कम्युनियनका लागि महत्त्वपूर्ण” भन्दै बधाई दिएको जनाएको छ।
तर, विश्वव्यापी परम्परावादी एङ्ग्लिकन समूहहरूले भने बाइबलले पुरुष मात्र बिशप हुन सक्ने व्याख्या गर्ने भएकाले यो निर्णयप्रति आपत्ति जनाएका छन्।
डेम सारा जनवरीमा हुने औपचारिक प्रक्रियापछि मात्र कानूनी रूपमा पद सम्हाल्नेछिन्।
सार्वजनिक सम्बोधनमा उनले भनेकी छिन्, “विश्वासघात र घृणाले चर्चलाई गम्भीर क्षति पुर्याएको छ। हामी सबैले, चाहे जुनसुकै पदमा भए पनि, आफ्ना काममाथि प्रकाश पर्न दिन तयार हुनुपर्छ।”
तीन दशकभन्दा बढी समय NHS मा बिताएकी उनले १९९९ मा इंग्ल्याण्डको सबैभन्दा कान्छी प्रमुख नर्सको रूपमा काम गरिन्। पछि उनले पादरी बन्ने निर्णय गरिन् र छिट्टै दुव्र्यवहारसम्बन्धी सुधार प्रक्रियामा चर्चलाई सहयोग गर्ने जिम्मेवारी पाइन।
२०१२ मा उनी सालिस्बरी क्याथेड्रलकी क्यनन ट्रेजरर बनिन्, त्यसपछि २०१५ मा क्रेडिटनकी बिशप र २०१८ मा लन्डनकी बिशप नियुक्त भइन्।
बीबीसीसँगको अन्तर्वार्तामा उनले भनिन्, “मैले नर्सको रूपमा जटिल संस्था चलाउने अनुभव पाएकी छु, सरकारको प्रमुख नर्सिङ अधिकारीको रूपमा काम गरेकी छु, र लन्डन जस्तो विविधता भएको डायोसीज चलाएकी छु। यी सबैले मलाई केही हदसम्म तयार पारेको छ, तर म यो काम एक्लै गर्न सक्दिनँ, सहकर्मीहरूसँगै गर्नुपर्छ।”
उनले थपिन्, “म पहिलो महिला भएकीले यो ऐतिहासिक हो। जब म विद्यालयमा जान्छु, धेरैजसो केटीहरूले गम्भीरतापूर्वक सुन्छन्। उनीहरू आफैं आर्चबिसप बन्न चाहँदैनन् होला, तर यसले उनीहरूलाई आफ्ना सपना पूरा गर्ने सम्भावना देखाउँछ।”
उनको प्राथमिक जिम्मेवारी भने अझै पनि दुव्र्यवहारका मुद्दालाई दया र न्यायका साथ सम्बोधन गर्नु नै रहनेछ। साथै, घट्दो चर्च सहभागिता बढाउने, समलिङ्गी विवाहबारे चर्चको निर्णयलाई सन्तुलित रूपमा अगाडि बढाउने, र सहायक मृत्यु (assisted dying) जस्ता विवादास्पद विषयमा आफ्नो स्पष्ट दृष्टिकोण प्रस्तुत गर्ने रहनेछ।
पूर्व आर्चबिसप रोवन विलियम्सले भनेका छन्, “यो भूमिकामा समाचारपत्र एक हातमा र बाइबल अर्को हातमा लिएर अघि बढ्नुपर्ने हुन्छ।”
समाचार स्रोत्र – BBC London












