काठमाडौं, १७ असोज । शनिबार दिउँसोदेखि सुरु हुने भारी वर्षाले देशका विभिन्न स्थानमा बाढी–पहिरोको जोखिम बढ्ने पूर्वानुमान छ। मौसमविद्हरुले विशेषगरी काठमाडौं उपत्यका, चितवन, मकवानपुर, काभ्रे, तनहुँ लगायत क्षेत्रका राजमार्ग बन्द गर्नु उपयुक्त हुने सुझाव दिएका छन्।
भारतको उडिसा नजिकैबाट बनेको मौसमी प्रणाली बिहार हुँदै नेपाल भित्रिने भएकाले मधेसदेखि पश्चिम र पूर्वी पहाडसम्म पानी पर्ने सम्भावना छ।
विपद् विज्ञ डा. धर्मराज उप्रेतीले उपत्यकाभित्र पनि अत्यावश्यकबाहेक आवतजावत नगर्न र नदी किनारका बस्तीलाई सतर्क गराउन आग्रह गरेका छन्।
मौसम विभागका अनुसार, आइतबार रातिसम्म कोशी प्रदेशमा समेत भारी वर्षा भई सोमबार बिहानदेखि मौसम क्रमशः सुधार हुने अपेक्षा गरिएको छ।












