काठमाडौँ– गाजामा युद्धविरामको सहमति भएपछि हमासले २० जना जीवित युद्धबन्दीहरूको नामावली इजरायललाई बुझाएको छ।

अमेरिकाको मध्यस्थतामा तयार गरिएको युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गत बिहीबार दुवै पक्षले हस्ताक्षर गरेका थिए।

युद्धविराम लागू भएपछि हमासले बन्दीहरूको सूची इजरायल पक्षलाई उपलब्ध गराएको हो। सो सूचीमा नेपाली नागरिक विपीन जोशीको नाम समावेश छ वा छैन भन्ने कुरा भने अझै स्पष्ट भएको छैन। तर, बुधबार सार्वजनिक गरिएको पुरानो भिडियोपछि जोशी मुक्त हुने सम्भावना थप बलियो भएको बताइन्छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ती २० जना जीवित बन्दीहरूलाई आइतबार एकैपटक मुक्त गरिने तयारी भइरहेको छ।

हमासले ती बन्दीहरू रिहा गर्ने सहमति जनाएको छ भने त्यसको बदलामा इजरायलले पनि केही प्यालेस्टिनी कैदीहरूलाई मुक्त गर्ने तयारी गरेको छ।

गत सेप्टेम्बर २९ मा सार्वजनिक २०-बुँदे योजनामा युद्धविराम, सबै इजरायली बन्दीहरूको रिहाइका साथै प्यालेस्टिनी कैदीहरूको विनिमय, हमासको निशस्त्रीकरण र गाजाको पुनर्निर्माणसमेत समावेश गरिएको थियो।

गाजामा बाँकी रहेका २० जना बाहेक अन्य कुनै बन्दी जीवित नरहेको आशंका सञ्चारमाध्यमहरूले व्यक्त गरेका छन्।

त्यस्तै, इजरायलमा हाल ११ हजारभन्दा बढी प्यालेस्टिनी कैदीहरू रहेका इजरायली मानवअधिकार संस्था ‘हामोकेड’ ले जनाएको छ।

अक्टोबर २०२३ देखि अहिलेसम्म हजारौँ प्यालेस्टिनी नागरिकहरूले इजरायलसँगको युद्धमा ज्यान गुमाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय