ललितपुर, २४ असोज पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकले गत भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलन दबाउन सरकारबाट बल प्रयोग गर्ने, गोली हान्ने आदेश सरकारले नदिएको बताउनुभएको छ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय पदाधिकारी बैठकमा सहभागी भएर बहिरिने क्रममा आज शुक्रबार धारणा राख्नुहुँदै पूर्वगृहमन्त्री लेखकले भदौ २३ गतेको घटनाका सम्बन्धमा सरकार द्वारा गठित आयोगले निष्पक्ष छानविन गर्नुपर्नेमा जोड दिनुभयो।
“जेन जेड आन्दोलनमा उठेका बिषयहरु सबै नेपालीको माग थियो, सुशासन कायम र भ्रष्टाचार नियन्त्रण जेन जेडहरुले उठाएको माग हो, तर त्यो आन्दोलनमा घुसपैठ भएर दु:खद घटना भयो, घटना दुखदायी र पीडादायी थियोे, मैले २३ गते नै गृहमन्त्रीबाट राजिनामा गरिसकेको थिएँ, २४ गते पनि दुखद घटनाभयो, सरकारी र निजी संरचनामा आगजनी भए, यो दुखद छ।” उहाँले भन्नुभयो।
उहाँले अहिलेको समयमा उत्तेजित हुने र आग्रहपूर्वाग्रहका आधारमा क्रियाशील हुने भन्दा पनि बृहत्तर हीतका लागि ठीक ढंगले अगाडि बढ्नुपर्छ भन्नेमा जोड दिनुभयो।
“२६ गतेको बैठकको तयारीका लागि पनि पदाधिकारी र कार्यसम्पादनको वैठक भएको हो, अहिले नेपाली कांग्रेसमा मात्रै नभएर देशमा एकताको आवश्यकता रहेको छ, बृहतर संवादको आवश्यक छ, जेन जेड पुस्ताले माग गरेको कुरालाई सम्बोधन गर्नुपर्ने छ।” उहाँले भन्नुभयो।

लेखकले भदौ २३ गतेको घटनाको छानवीन गर्नका लागि गठन भएको आयोगले लोकतान्त्रिक पद्धतिभित्र बसेर मुलुकको संविधान र कानूनभित्र बसेर काम गर्नुपर्ने बताउनुभयो।
“उत्तेजित हुने र पूर्वाग्रह राख्ने समय हैन, उत्तेजना र प्रतिशोधबाट माथि उठेर ठीक ढंगले बुझेर मूल्य र मान्यताअनुरूप अगाडि बढ्नुपर्छ, जेन जेड आन्दोलनका भाइबहिनीले नै घुसपैठ भएको भनेर भन्नु भएको कुरा आएको छ, घुसपैठ भएको बिषय प्रदर्शनका आयोजकले नै भनेको बिषय हो।” उहाँले भन्नुभयो।—

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय