काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा रहेका सभामुख देवराज घिमिरेले आज राजनीतिक दलहरूसँग परामर्श गर्ने भएका छन्।

संसद् पुनर्स्थापनाको मागसहित अदालत धाउने तयारीमा देखिएका सभामुख घिमिरेले यस विषयमा दलहरूको धारणा बुझ्न पहल थालेका हुन्।

घिमिरेले बुधबार बिहान ९ बजे ११ राजनीतिक दलका प्रतिनिधिलाई छलफलका लागि निम्त्याएका छन्। उक्त छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, जसपा (नेपाल), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टी सहभागी हुनेछन्।

तर राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र आमजनता पार्टीलाई भने छलफलमा समावेश गरिएको छैन। सभामुखले प्रतिनिधिसभा विघटन हुनुअघिका प्रमुख सचेतकहरूलाई पनि छलफलका लागि बोलाएका छन्।

आजको छलफलमा सभामुख सर्वोच्च अदालतमा जानु उपयुक्त हो कि होइन भन्ने विषयमा दलहरूको धारणा सुन्ने तयारी गरिएको छ। सभामुख घिमिरेले सबै दललाई प्रतिनिधिसभा विघटनबारे आफ्नो आधिकारिक मत लिएर उपस्थित हुन अनुरोध गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय