ललितपुर, कात्तिक १ — जिल्ला प्रशासन कार्यालय ललितपुरले आगामी तिहार, नेपाल संवत् ११४६ र छठ पर्वलाई दृष्टिगत गर्दै जिल्लाभर शान्ति–सुरक्षा, सुव्यवस्था तथा दुर्घटना नियन्त्रणका लागि विशेष सुरक्षा व्यवस्था मिलाएको जनाएको छ।
प्रशासनले जारी गरेको सूचनामा शुभ–दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा सामाजिक सौहार्द, सद्भाव र सांस्कृतिक परम्परालाई संरक्षण गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले आवश्यक तयारी र समन्वय पूरा गरेको उल्लेख गरिएको छ।
जिल्ला प्रशासनले जारी गरेको निर्देशन अनुसार —
- देउसी–भैंलो लगायतका कार्यक्रम राति १० बजेपछि सञ्चालन गर्न नपाइने।
- तिहारमा मादक पदार्थको अत्यधिक सेवन, आतसबाजी, पटका, फटाका, आगो खेलाउने कार्यमा प्रतिबन्ध लगाइने।
- सार्वजनिक सम्पत्ति, सरकारी कार्यालय, सडक तथा सामुदायिक स्थलमा विद्युत् झिलिमिली गर्दा सुरक्षा सावधानी अपनाउनुपर्ने।
- पर्वका अवसरमा समुदायबीच द्वन्द्व, जातीय वा धार्मिक सौहार्दमा खलल पुर्याउने कुनै पनि गतिविधि गर्न नपाइने।
- सुरक्षासम्बन्धी कुनै घटना वा शंका लागेमा तुरुन्तै १०० मा जानकारी दिन अनुरोध गरिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरे द्वारा हस्ताक्षरित सूचनामा नागरिकले उत्सवलाई मर्यादित, सुरक्षित र सभ्य तरिकाले मनाउन आग्रह गरिएको छ।













